
बेनी ः म्याग्दीको सदरमुकाम बेनी बजार पछाडीको पाखोबाट आज बिहान र गएराती खसेको पहिरोले १२ वटा घरमा क्षति पुगेको छ ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी नगरपालिका–८ को न्युरोडमा खोरियाको पाखोबाट पहिरो खसेर क्षति पु¥याएको हो । छ वटा घरभित्र पहिरोसँगैको लेदो पसेर बस्न नमिल्ने भएका र थप छ घरमा पनि क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
“बुधबार दिउँसो देखि आज बिहानसम्म ती पटक पहिरो खसेको छ, पाखोमा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै खसेको पहिरोबाट जोखिममा रहेका घरका मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ,” उहाँले भन्नुभयो “थप क्षति हुन नदिनका लागि प्राबिधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काममा जुटेका छौ ।”

बेनीको न्युरोडका बासिन्दाहरुले गएराती घर छाडेका थिए । कृषि विकास बैंक र ग्लोवल आइएमई बैंकको शाखा कार्यालयका महत्वपूर्ण सामग्री र कागजपत्रहरु पनि सुरक्षित ठाउँमा सारिएको छ ।
बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र सुरक्षाकर्मीहरुको टोलीले पहिरोको जोखिममा रहेका घरभित्रबाट सामानहरु सार्न थालेका छन् । पहिरोको त्रासका कारण न्युरोडबासीहरु रातभर नसुतेर जाग्राम बसेका स्थानीय चिरञ्जिवी शर्माले बताउनुभयो ।

पहिरो प्रभावित घरहरुमा डेरामा बस्नेहरुलाई खानाको ब्यवस्था मिलाइएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । पछिल्लो चार दिनयता पहिरोको चिराको आकार बढेको र बुधबार देखि पहिरो सक्रिय बनेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार करिब तीन सय मिटर उचाई, पाँच सय मिटर चौडाई र एक सय मिटर लम्बाईमा खरबारी चिरा चिरा परेर धाँजा फाटोको छ । पाखाका रुखहरु लडेका र ढल्कीएका छन् । पानीको मुहान भएको ठाउँबाट शुरु भएको पहिरोले तल र माथि दुबैतर्फ असर गरेको छ । बेनी बजारमा खानेपानी आपुर्ति गराउने मुख्य पाइपलाइन पनि चुडिएका, भाँचिएका र लत्रिएका छन् ।
यो पहिरोले बेनीको न्युरोड र गणेशटोल क्षेत्रका करिब एक सय घरलाई प्रभावित बनाउने जोखिम छ । प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राबिधिक अध्ययनका लागि तत्कालै भूगर्वविद्को टोली पठाउन सम्बन्धीत निकायमा पत्राचार गरिसकेको बताउनुभयो ।
भूगर्वविद्हरुको सुझावको आधारमा पहिरोको थप क्षति आकलन गर्न सकिने बताउदै उहाँले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन बेनी बजारबासीलाई आग्रह गर्नुभयो ।
