बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता

Gandaki Ghumau

म्याग्दी, ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि मुख्यमन्त्री पाण्डेले विपद्का कारण प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकार स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो ।

“विपद्को कठिन परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेर सरकार सक्रिय छ,” उहाँले भन्नुभयो, “क्षतिग्रस्त सडक, पुललगायत भौतिक संरचना तत्काल सञ्चालनमा ल्याउने र सम्भव भएका पुनर्निर्माणका काम अघि बढाउने गरी प्रदेश सरकारले आवश्यक समन्वय गरिरहेको छ ।”

Shreekrishna

निरीक्षणका क्रममा उहाँले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक तथा पुललगायत पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्थाबारे स्थानीय नागरिक, जनप्रतिनिधि तथा सुरक्षा निकायसँग जानकारी लिनुभएको थियो । प्रभावित तथा विस्थापित नागरिकले भोग्नुपरेका समस्या र तत्काल आवश्यक पर्ने राहत सामग्रीका विषयमा समेत उहाँले जानकारी लिनुभयो ।

मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट विस्थापित नागरिकको सुरक्षित बसोबास, खाद्यान्न, स्वास्थ्य उपचारलगायत आधारभूत आवश्यकताको व्यवस्थापनमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले प्रभावित नागरिकलाई आवश्यक राहत तथा पुनःस्थापनाका लागि स्थानीय तहसँग समन्वय गरी तत्काल काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको थियो ।

Gunasthariya Shiksya

“स्थानीय तह, जिल्लास्थित सुरक्षा निकाय र प्रदेश मातहतका कार्यालयसँग समन्वय गरेर सरकारले उपलब्ध साधन–स्रोतले भ्याएसम्म काम गरिरहेको छ,” उहाँले भन्नुभयो, “प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने राहत तथा पुनःस्थापनाको काममा कुनै कमी हुन नदिन सरकार प्रतिबद्ध छ ।”

बाढीपहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । प्रदेश सरकारले प्रभावित जिल्लामा त्रिपाल, टेन्ट तथा स्वास्थ्य सामग्री पठाउनुका साथै स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई प्रतिव्यक्ति रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । मृत्यु भएका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत थप रु २५ हजार र घाइतेलाई उपचार खर्चबापत रु ५० हजार उपलब्ध गराउने निर्णयसमेत गरेको प्रदेश सरकारले जनाएको छ ।

बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, खानेपानीलगायत पूर्वाधारको क्षतिको विवरण संकलन गरी पुनर्निर्माणका काम अघि बढाउने प्रदेश सरकारको तयारी छ । प्रभावित क्षेत्रमा अवरुद्ध सडक तथा अन्य अत्यावश्यक पूर्वाधारलाई प्राथमिकताका आधारमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

निरीक्षणका क्रममा स्थानीयले बाढीपहिरोबाट भएको क्षति, सडक अवरोध, विस्थापन तथा राहत र पुनःस्थापनासम्बन्धी समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए । स्थानीयको गुनासो सुन्दै मुख्यमन्त्री पाण्डेले विपद्बाट प्रभावित नागरिकको समस्या समाधानका लागि प्रदेश सरकार आवश्यक स्रोतसाधन र समन्वय जुटाएर काम गर्ने बताउनुभयो ।

उहाँले विपद्को समयमा सरकारका साथै स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, नागरिक समाज तथा सञ्चार क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँदै प्रभावित नागरिकको जीवन सामान्य बनाउन सबै पक्ष एकजुट हुन आग्रह गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...