कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

Gandaki Ghumau

सन्तोष गौतम÷
म्याग्दी, १३ असोज ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकैको बारी भएको ठाउँबाट दुईदिनयता कालीग्ण्डकी नदी बग्न थालेको छ ।

आइतबार बिहानदेखि बाढीले कटान गर्न थालेपछि सामान निकालेर अगाडीको सडकमा थुपारेको सामान लगेर कहाँ बस्न भन्ने निर्णय लिन अझै सक्नुभएको छैन् । “करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ बस्ने अवस्था छैन,” सोमबार दिउँसो घरका सामान सार्दै गरेका गमबहादुरले भक्कानीदै मलिन स्वरमा भन्नुभयो “कालीगण्डकीको बाढी र कटानले हामीलाई सुकुम्बासी बनायो । परिवारलाई कहाँ लगेर राख्ने ? टुंगो छैन् ।”

जिवनभर विदेशमा दुःख गरेर गरेको आम्दानीले जोडेको सडक छेउको एक रोपनी भन्दा बढी जग्गा बगाएको र २० वर्षदेखि बस्दै आएको घर छाडेर हिड्नुपर्दा गमबहादुरको गहभरी आँसु छचल्कीएका देखिन्थे । आठ घरपरिवारको बसोबास रहेको तिल्केनीचौर चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको ब्यापारिक केन्द्र जस्तै थियो ।

Shreekrishna

तिल्केनीका रेन्टुरेन्टमा लोकल माछा, कुखुरा लगायत स्थानीय परिकारसँग खाजा र खानाका लागि बेनी–जोमसोम सडकमा यात्रा गर्ने मात्र नभएर बेनी, बागलुङ, कुश्मा र पोखराबाट समेत पाहुनाहरु आउने गर्दथे । अब त्यो इतिहाँस बनेको छ । असोज ८ देखि ११ गतेसम्मको लगातारको झरीपछिको बाढीले पाहुनालाई स्वादिष्ट स्थानीय परिकारको स्वाद चखाउने तिल्केनीचौरका घरहरु रित्तिएका छन् ।

रेष्टुरेन्ट ब्यवसायी गोपाल भण्डारीले पनि जिवनभरको कमाई खर्चेर बनाएको घर छाडेर हिड्नुपरेकोमा दुःख सुनाउनुभयो । कालीगण्डकीको बाढीले धार परिर्वतन गरेर भण्डारीको घरछेउको खेलमैदानको ८० प्रतिशत भाग कटान गरेर त्यहीबाट बग्न थालेको छ ।

“५० मिटर टाढा बगिरहेको कालीगण्डकीले धार परिवर्तन गरेर एक्कासी बस्तिमा आउला भन्ने कल्पना पनि गरेको थिएन,” भण्डारीले भन्नुभयो “हाम्रो घरजग्गा र सम्पत्ती मात्रै नभई यहाँ काम गरेर जिविकोपार्जन गर्ने मजदुर, तरकारी, दूध, फलफुल, कुखुरा बेच्ने किसानहरुलाई पनि पिडा भएको छ ।”

तिल्केनीचौरको चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङले करिब दुई दशक ब्यवसाय गरेर बसेको ठाउँ छाडेर गलेश्वरमा बस्न थालेको बताउनुभयो । “तिल्केनीचौर बस्तिमा अहिले भएका घरहरु जुनसुकै बेला कालीगण्डकीले बगाउने अवस्था छ,” उहाँले भन्नुभयो “यो बस्तिमा अब रिक्ता घरहरु मात्र रहने भए ।”

Gunasthariya Shiksya

तिल्केनीचौरको नजिकै रहेको घुमाउने तालमा पनि कालीगण्डकीले कटान गरेर जोखिम बनाएको स्थानीय हरि चन्द्ले बताउनुभयो । बाढी र कटानको डरले रातमा पाखोमा रहेको कुखुराको फार्ममा गएर सुत्ने गरेको उहाँले बताउनुभयो ।

घुमाउने ताल देखि पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । यो पुल म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिका समेटिएको अन्नपूर्ण–धौलागिरि चक्रीय पदमार्गको प्रवेशबिन्दु थियो ।

बाँसखर्कबाट ल्याएको पाइपलाइन पुलसँगै बगेकाले खानेपानीको अभाव भएको चन्द्ले बताउनुभयो । यहाँ करिब १० घरपरिवारको बसोबास छ । बाँसखर्कतर्फ बाढीले खेतीयोग्य जमिन कटान गरेको छ । राखु र बाँसखर्क क्षेत्रका बासिन्दालाई आवत जावतमा समस्या भएको छ ।

तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह परिसरमा पनि कालीगण्डकीले कटान गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाटले गत हप्तादेखि परिक्षण उत्पादन शुरु गरेको थियो ।

विद्युतगृह देखि ५० मिटर टाढा रहेको कालीगण्डकीले धार परिवर्तन गरेर स्विचयार्ड नजिक आएको र विद्युतगृहबाट पानी बगाउने टेलरेसबाट बग्न थालेको छ । टेलरेस बगाएपनि विद्युतगृहलाई भने क्षति गरेको छैन् ।

१६ वर्ष लगाएर निर्माण भएको राहुघाटको परिक्षण उत्पादन बन्द भएको छ । आयोजना प्रमुख राजबहादुर बिष्टले प्राकृतिक विपद्का कारण केही दिनका लागि परिक्षण उत्पादन बन्द गरिएको बताउनुभयो । विद्युतगृह र कालीगण्डकीको बिच भागमा रहेको बेनी–जोमसोम सडक बाढीले बगाएको छ । पहिले गाडी हिड्ने सडकमा अहिले नदी बगेको छ ।

विद्युतगृह परिसरमा रहेको भारतीय ठेकेदार कम्पनी जयप्रसाश एशोसियट्स (जेपि)का उपकरण र सवारी साधनहरु बाढीले बगाएको छ । करिब २० वटा सवारी साधनहरु बाढीले बगाएको जेपीका कर्मचारी कुमार यादवले बताउनुभयो । आयोजना निर्माण सकेर जाने समयमा विपद्बाट अर्बोको क्षति ब्यहोर्नुपर्दा दुःख लागेको उहाँले बताउनुभयो ।

गायत्रीमन्दिर पारीको राममन्दिर क्षेत्रमा कालीगण्डकीको भँगालो ठोक्कीएको छ । कालीगण्डकी र रघुगंगा नदीको संगममा रहेको राममन्दीर पनि जोखिममा परेको छ । पाखोबाट पहिरो खसेर राहुघाट बस्तिमा झरि परेको समयमा बाढी पसेको थियो । पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएको छ ।

सडकबाट आएको लेदो घरभित्र पसेर हिलाम्मे बनाएको स्थानीय मिम थकालीले बताउनुभयो । पाखोबाट खस्ने पहिरोको दिर्घकालिन समाधान नहुँदा बर्षेनी समस्या ब्यहोर्नुपरेको राहुघाटबासीले गुनासो गरेका छन् । यो पहिरोबाट २१ घरपरिवार जोखिममा परेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...