
बेनी, स्थानीय प्रशासनले म्याग्दीका मुख्य दुई वटा सडकमा आज देखि चार दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला सदरमुकाम बेनी देखि रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी जोड्ने बेनी–दरवाङ सडकमा असोज ११ गतेसम्मका लागि यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले भारी बर्षाको कारण हुन सक्ने विपद्को जोखिम र क्षति न्युनीकरणका लागि दुई वटै सडकमा साँझ छ देखि भोलिपल्ट बिहान छ बजेसम्म कुनै पनि यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जानकारी दिनुभयो ।


मैसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई पनि बिहिबार देखि आइतबार सम्म भारी बर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेका छन् । बाढी, पहिरो, कटानका कारण सम्भावित क्षतिलाई आँकलन गर्दै धवलागिरी गाउँपालिकाले बिहिबार र शुक्रबार विद्यालय बन्द गरेको छ ।
बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले स्थानीय बिदाबाट समायोजन हुने गरि शुक्रबार शैक्षिक संस्थाहरुलाई बिदा दिएका छन् । जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्थानीय तह, सुरक्षा निकाय र समुदाय स्तरमा सतर्कताका साथै पुर्वतयारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
निर्माण सम्पन्न भएका र निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समेत सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ । विपद्को अवस्थामा सडक, विद्युत, सञ्चार लगायत आधारभूत सुविधामा हुन सक्ने अवरोध हटाउनका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, छ वटै स्थानीय तह, विद्युत प्राधिकरण, नेपाल टेलिकम सहितका सेवा प्रदायक निकाय र उद्योग वाणिज्य संघ, रेडक्रस सोसाइटी लगायत संघ संस्थासँग समन्वय गरिएको प्रजिअ गैरेले बताउनुभयो ।
