
बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले वडा नं। ४ स्थित महभिर आधारभूत विद्यालयमा कार्यरत बालविकास सहजकर्ता रामकुमारी पुनको सरुवा प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार भएको दाबी गरेको छ।
डेढ वर्षअघि निस्कोट माविबाट महभिरमा सरुवा गरिएको बालविकास सहजकर्ता पुनको सरुवासम्बन्धी विषयमा सामाजिक सञ्जालमा विभिन्न अपुष्ट, भ्रामक तथा अफवाहजन्य सामग्री सम्प्रेषण भइरहेको भन्दै गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सोमबार विज्ञप्तिमार्फत गाउँपालिकाको प्रतिक्रिया सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाले शिक्षक तथा कर्मचारीको जिम्मेवारी, काज, सरुवा तथा व्यवस्थापनसम्बन्धी निर्णय गर्दा सम्बन्धित निकायबाट प्राप्त जानकारी, प्रचलित कानुनी व्यवस्था, आवश्यक प्रक्रिया र सम्बन्धित समितिको सिफारिसका आधारमा गाउँ कार्यपालिकाबाट निर्णय हुने दावी गरेको छ ।
बालविकास सहजकर्ता पुनको व्यवस्थापनसम्बन्धी विषयमा पनि सम्बन्धित विद्यालयबाट प्राप्त जानकारी, गाउँ शिक्षा समितिको सिफारिस तथा प्रचलित कानुनी व्यवस्थाबमोजिम गाउँ कार्यपालिकाबाट निर्णय भएको गाउँपालिकाको भनाइ छ। उक्त निर्णयअनुसार नै कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ।
बालविकास सहजकर्ता पुनले भने शिक्षा ऐन, नियम र कानुन विपरित आफूलाई पूर्वाग्रही र अन्यायपूर्ण रुपमा अपायक पर्ने ठाउँमा सरुवा गरिएको गुनासो गर्दै आउनुभएको छ ।


सामाजिक सञ्जालमा केही सामग्रीमार्फत वास्तविक निर्णय प्रक्रिया तथा त्यसका आधारबारे पूर्ण जानकारी नलिई विभिन्न धारणा र टीका–टिप्पणी सार्वजनिक भएको भन्दै गाउँपालिकाले आधिकारिक जानकारी नबुझी कुनै पनि विषयमा अपुष्ट सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ।
गाउँपालिकाले कुनै विषयमा जिज्ञासा वा असमझदारी भए सम्बन्धित कार्यालयमा औपचारिक रूपमा लिखित जानकारी गराई आवश्यक प्रक्रिया अवलम्बन गर्न अनुरोध गरेको छ।
सामाजिक सञ्जालको जिम्मेवार तथा मर्यादित प्रयोग गर्न आग्रह गर्दै गाउँपालिकाले व्यक्ति तथा संस्थाको प्रतिष्ठामा आँच पुग्ने गरी अपुष्ट सामग्री सम्प्रेषण नगर्नसमेत अनुरोध गरेको छ। जानीजानी झुटा, भ्रामक वा चरित्र तथा प्रतिष्ठामा आँच पु¥याउने किसिमका सामग्री सम्प्रेषण भएको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।
गाउँपालिकाको शिक्षा क्षेत्र योजनामा समेत बालविकास सहजकर्तासहित विद्यालयका शिक्षक तथा कर्मचारी व्यवस्थापनलाई स्थानीय तहको शिक्षा व्यवस्थापनको विषयका रूपमा समेटिएको छ।
