बेनीमा व्यवसायी सचेतना कार्यक्रम सुरु

Gandaki Ghumau

म्याग्दी, । म्याग्दी उद्योग वाणिज्य संघले बजारमा व्यवसाय सञ्चालनसम्बन्धी कानुनी तथा व्यावसायिक मापदण्डको पालना बढाउन बेनीमा व्यवसायी सचेतना कार्यक्रम सुरु गरेको छ ।

संघले आइतबारदेखि बेनी बजारका विभिन्न क्षेत्रमा व्यवसायी तथा उद्योगीलाई प्रत्यक्ष भेटघाट गरी सचेतनामूलक पर्चा वितरण गर्न थालेको हो । संघका पदाधिकारी तथा सदस्यहरुले बेनी नगरपालिका–७ र ८ का विभिन्न क्षेत्रमा व्यवसायीलाई भेटेर व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने नियम, उपभोक्ता हित तथा सरसफाइका विषयमा जानकारी गराएका छन् ।

संघले व्यवसायीलाई कारोबारस्थलमा सबैले देख्ने गरी मूल्यसूची राख्न, नियमित रुपमा बिल–बिजक जारी गर्न तथा खरिद–बिक्री खाता अद्यावधिक राख्न आग्रह गरेको छ । व्यवसायसम्बन्धी निकायमा दर्ता गरेर मात्र कारोबार सञ्चालन गर्न, दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (पान) र कर पाटी कारोबारस्थलमा राख्न तथा पसलको बाहिरी भागमा स्पष्ट देखिने गरी विवरण राख्न पनि अनुरोध गरिएको छ ।

Shreekrishna

त्यसैगरी उत्पादन मिति, उपभोग मिति तथा उपभोक्ता मूल्य (एमआरपी) उल्लेख नभएका सामान बिक्री नगर्न, म्याद गुज्रिएका सामान कारोबारस्थलमा नराख्न र सरसफाइमा विशेष ध्यान दिन संघले आग्रह गरेको छ । सही तौल भएका तथा इजाजतप्राप्त ढक, तराजु वा इलेक्ट्रोनिक तराजु प्रयोग गर्न र नापतौल तथा गुणस्तर कार्यालयको इजाजतपत्र अद्यावधिक गर्न पनि व्यवसायीलाई सचेत गराइएको छ ।

Gunasthariya Shiksya

संघले अन्तःशुल्क दर्ता नगरी सूर्तीजन्य तथा मदिराजन्य पदार्थको कारोबार नगर्न, ठूला करदाताले अनलाइन बिलिङ जारी गर्ने अनुमति पत्र राख्न तथा होटल, रेष्टुरेन्ट र होस्टल व्यवसायीले सरसफाइ, खाद्य सुरक्षा र कर्मचारीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

होटल तथा रेष्टुरेन्टमा कर्मचारीले सफा पोशाक प्रयोग गर्ने, नियमित स्वास्थ्य परीक्षण गराउने तथा नङ र कपाल सफा राख्ने, खाद्य सामग्री सुरक्षित रुपमा भण्डारण गर्ने र अखाद्य वस्तुको प्रयोग नगर्ने विषयमा पनि सचेत गराइएको छ । औषधि बिक्री गर्ने व्यवसायीले चिकित्सकको पुर्जा हेरेर मात्र औषधि बिक्री गर्ने र त्यसको अभिलेख राख्नुपर्ने संघले जनाएको छ । मासु व्यवसायीलाई स्वच्छ मासु मात्र बिक्री गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

व्यवसायी सचेतना कार्यक्रमअन्तर्गत सोमबारदेखि संघको सभाहलमा बेनी नगरपालिका–७ र ८ का व्यवसायीलाई सहभागी गराएर छलफल तथा सचेतना कार्यक्रम सञ्चालन गरिने संघले जनाएको छ । असोज ६ गते बेनी नगरपालिका–७ का व्यवसायी, असोज ७ गते बालमन्दिर माध्यमिक विद्यालय क्षेत्र, बेनी–८ तथा कालीपुल क्षेत्रका व्यवसायी र असोज ८ गते वस्तुगत संघका पदाधिकारी तथा सदस्यका लागि सचेतना कार्यक्रम तय गरिएको छ ।

संघले सबै व्यवसायीलाई अनिवार्य सदस्यता लिएर हरेक वर्ष असार मसान्तभित्र नवीकरण गर्न, प्रत्येक वर्षको असोजभित्र पान नम्बरको आयकर तथा प्रत्येक साउनभित्र मदिरा तथा सूर्तीजन्य वस्तुको अन्तःशुल्क संघको सहजीकरणमा सचिवालयमा आई भुक्तानी गर्नसमेत आग्रह गरेको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले व्यवसायी र उपभोक्ताबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउँदै कानुनी प्रक्रिया तथा उपभोक्ता हितका विषयमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । संघले व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या आएमा समन्वय तथा सहजीकरणका लागि संघसँग सम्पर्क गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...