
बेनी, ः म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेश गैरे जिल्लाको बस्तुअवस्था बुझ्नका लागि सरोकारवालाहरुसँगको परामर्श शुरु गर्नुभएको छ ।
गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाबाट यही भदौ १९ गते को निर्णय अनुसार म्याग्दीमा सरुवा हुनुभएका गैरे बुधबारदेखि जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रजिअको जिम्मेवारी सम्हालेपछि उहाँले सुरक्षा निकाय, कार्यालय प्रमुख, राजनीतिक दल, जनप्रतिनिधी, ब्यवसायी, पत्रकार लगायत सरोकारवालाहरुसँग परामर्श थाल्नुभएको हो ।
म्याग्दीको शान्ति सुरक्षा, सेवा प्रवाह र सुशासनमा हालको अवस्था, समस्या र समाधानको उपाय पहिचानका लागि सरोकारवालाहरुसँग परामर्शमा जुट्नुभएको हो । विभिन्न क्षेत्रबाट प्राप्त हुने सल्लाह, सुझावका आधारमा प्रशासनको कामकारबाही अघि बढाउने प्रजिअ गैरे पत्रकारहरुसँगको भेटघाटका क्रममा बताउनुभयो ।
म्याग्दीमा प्रजिअ रहेका उपसचिव रविन्द्र आचार्यको भूमि ब्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको २०८३ भदौ १ गतेको निर्णय अनुसार सप्तरीको हनुमाननगर कङ्गालिनी नगरपालिकामा सरुवा भएको थियो ।
प्रशासनिक नेतृत्वको अभावका कारण सार्वजनिक सेवा प्रवाहमा अलमल तथा अन्यौल, विपद् ब्यवस्थापन, अर्धन्यायिक मुद्दा लगायतका कार्यहरु प्रभावित भएका थिए । स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने प्रमुख जिम्मेवारी प्रजिअको हुन्छ । जिल्लामा उत्पन्न सुरक्षा चुनौतीको मूल्यांकन गरी सुरक्षा निकायसँग समन्वय गर्ने, आवश्यक प्रशासनिक आदेश जारी गर्ने तथा संवेदनशील परिस्थितिमा जिल्लाको प्रशासनिक नेतृत्व गर्ने काममा प्रजिअको भूमिका महत्वपूर्ण हुन्छ ।

विभिन्न अर्धन्याकि मुद्दा तथा प्रशासनिक कारबाही, सार्वजनिक शान्ति–सुरक्षासँग सम्बन्धित निर्णय, विपद् ब्यवस्थापन, हातहतियार तथा इजाजतसम्बन्धी केही काम र कानुनले प्रजिअलाई तोकेको छ ।

