
दरवाङ, ः म्याग्दीमा आधारभूत तहका विद्यार्थीको पठन सिप विकास गरि सिकाई उपलब्धी र शैक्षिक नतिजामा सुधार ल्याउन कार्यक्रम सञ्चालन भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय तह र शिक्षासँग सरोकार राख्ने संघ संस्थाहरुसँगको समन्वयमा पठन सिप विकास कार्यक्रम सञ्चालन गरेको हो । इकाईका प्रमुख मोतिलाल चापागाईले पछिल्लो समय प्रबिधिको विकासका कारण बालबालिकाहरुमा पठन सिप घट्न थालेकाले सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
“मोवाईलका कारण बालबालिकाहरुले पाठ्यपुस्तक पढ्न छाडेकाले विद्यालय शिक्षाको जग (आधार)मै समस्या देखिएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ,” उहाँले भन्नुभयो “आधारभूत तहका विद्यार्थीमा पठन सिप र सिर्जनशिलता विकास नगराउने हो भने माथिल्लो तहमा जति मेहनत गरेपनि परिणाम नआउने देखेर नयाँ कार्यक्रम शुरु गरेका हौ ।”


कार्यक्रम मार्फत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुबीच कक्षागत रुपमा हरेक बिद्यालय, पालिका र जिल्ला स्तरमा पठन सिप प्रतियोगिता गर्न थालिएको छ । विद्यालय स्तरीय प्रतियोगिताबाट छानिएकालाई पालिका र पालिकाबाट छानिएकालाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराएर उत्कृष्ट पठन सिप भएका विद्यार्थीलाई प्रोत्साहन तथा अन्यलाई सन्देश दिने उद्देश्य राखिएको छ ।
कार्यक्रम अन्तरगत मंगलबार दरवाङमा मालिका गाउँपालिका स्तरीय पठन सिप प्रतियोगिता भएको छ । कक्षागत हिसाबले २० देखि २५ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रत्येक विद्यालयबाट छनौट भएर आएका विद्यार्थीहरुले आयोजकले तोकेको पुस्तकको पाठका बाक्य बाचन गरेर सुनाएका थिए ।
शुद्धता, स्पष्टता र प्रस्तुति शैली लगायतका आधारमा मूल्यांकन गरि कक्षागत हिसाबले पहिलो, दोस्रो र तेस्रो भएका १५ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा दातृ संस्था गुड नेवर्स इन्टरनेशनलको सहयोगमा स्थानीय गैरसरकारी संस्था संगम म्याग्दी मार्फत सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाले सघाएको थियो ।
धवलागिरि, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकामा पनि पठन सिप प्रतियोगिता सञ्चालन गरिने समन्वय इकाई प्रमुख चपागाईले बताउनुभयो । पालिका स्तरीय प्रतियोगिताबाट छानिएका विद्यार्थीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराई उत्कृष्टलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो ।
मालिका गाउँपालिका–४ को ओखरबोट माविका प्रअ नविन कार्कीले विद्यार्थीको सिकाई उपलब्धी र नतिजामा सुधार ल्याउनका लागि पठनसिपको विकास अपरिहार्य भएको बताउनुभयो । कक्षाकोठा बाहेक पनि विद्यार्थीहरुले स्पष्ट र शुद्धसँग पढाएका पाठ पढ्न तथा उच्चारण गर्र्न सक्ने बनाउन आधारभूत तहमै मेहनत गर्नुपर्ने जनप्रिय माविका शिक्षक नगेन्द्र केसीले बताउनुभयो ।
