
बेनी ः म्याग्दीको रघुगंगा गाँउपालिका–४ दग्नाम कान्छिगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुर्नःमिलन भएको छ ।
रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर जानुभएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किनुभएको हो । तिलिजालाई परिवारले जीवित हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो । उहाँको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उहाँबीचको सम्पर्क पूर्णरूपमा टुटेको थियो ।
‘युट्युव भिडियो’ले भेटियो परिवार
मणिपुरको जंगलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उहाँको घर फर्कने बाटो खुलेको हो । गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जंगलमा दुई जना वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराउनुभयो ।

देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे ‘भिडियो’ बनाएर आफ्नो युट्युब च्यानलमा राख्नुभएको थियो । उक्त भिडियोपछि परिवारजनले उनीहरुको पहिचान गरी सम्पर्क गरेका थिए ।
“मणिपुर घुम्न जाने क्रममा जंगलमा दुई जना वृद्ध बसिरहेको जानकारी पाएँ । भिडियो बनाएर युट्युबमा राखेपछि परिवारजन सम्पर्कमा आउनुभयो,” देवानले भन्नुभयो, “राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर घरसम्म ल्याइदिएको हुँ ।”
निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गराउनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उहाँलाई दग्नाम ल्याइएको हो ।
पाँच दशकपछी खुसी फर्कियो
दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी र परिवारका सदस्यले उहाँलाई फूलमाला लगाएर स्वागत गरे । पाँच दशकभन्दा लामो समयपछि दाजुलाई देखेका भाइहरुले आफूहरुले खोजी गर्न नसकेको विगत सम्झिए ।

“एक दिन दाईसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो । अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ,” तिलिजाका भाइ उदयचन्द्रले भन्नुभयो, “दाईको फोटो पनि हामीसँग थिएन् । खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ । उहाँलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई धन्यवाद छ ।”
तिलिजा चार भाइमध्ये जेठा हुनुहुन्छ । उहाँका माइला भाइको निधन भइसकेको छ । साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आउनुभएको छ ।
भर्ती हुन गएका यामबहादुर काठ काटेर जिवन बिताए
तिलिजा भने घरबाट निस्किएपछि लामो समय मणिपुरमै बस्नुभयो । उहाँ भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुग्नुभएको थियो । सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काम गर्न थाल्नुभयो ।
“परिवार र भाइहरुसँग सम्पर्क टुट्यो । पढाइलेखाइ नभएकाले चिठीपत्र पठाउन सकिनँ । पैसा नभएपछि घर फर्कन सकिनँ,” तिलिजाले भन्नुभयो ।
मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो । त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो । लामो समयपछि घर फर्किंदा भने उहाँले जन्मथलोमा आफ्ना भाइ र आफन्तलाई भेट्न पाउनुभएको छ ।
उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसकेपछि उहाँले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आउनुभएको थियो । “परिवारसँग भेट्न पाएँ । जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ,” तिलिजाले भन्नुभयो “बाँकी जिवन भाई, परिवार र आफन्तजनसँग बिताउछु ।”
रघुगंगा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा खुसी फर्किएको बताउनुभयो । उहाँका अनुसार तिलिजाका परिवारले लामो समयदेखि उहाँको खोजी गर्न सकेका थिएनन् ।
पाँच दशकभन्दा लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले हराएको सदस्य पुनः पाएको छ । मणिपुरबाट सुरु भएको खोजीको कथा दग्नामको घरआँगनमा पुगेर टुङ्गिएको छ ।
