
बेनी, ः बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु. ५० हजारको ‘क्याप्सीकम’ (भेडे खुर्सानी) बेच्नुभयो ।
“दुई वटा पलास्टिक टनेलभित्र लगाएको क्याप्सीकम बेचेर यो सिजनमा रु. ५० हजार कमाई भयो,” उहाँले भन्नुभयो “क्याप्सीकम बेचेर सकिएपछि टमाटर र रायो साग खेती गर्ने योजनामा छु ।”
बसाईसराई, बैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव, बाँदर र बढ्दो लागतका कारण खाद्यबाली खेती गर्न समस्या हुन थालेको अवस्थामा व्यवसायिक तरकारी खेती गरेर घरव्यवहार चलाउन सहज भएको ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारीको अनुभव छ ।

बेनी नगरपालिकाको माथिल्लो भेगमा पर्ने डडुवाका बासिन्दाहरु दशक अघिसम्म खेतबारीमा परम्परागत धान, गहुँ, मकै, कोदो खेती गर्दथे । आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको आयोजनामा कास्की र पर्वतका तरकारी खेती भएका ठाउँमा भएको अवलोकन भ्रमणपछि डडुवाका किसानले खेती गर्ने शैली बदलेका हुन् ।


अगुवा कृषक मोहनबहादुर भण्डारीले सहकारीको भ्रमण डडुवाबासीलाई ब्यवसायिक तरकारी खेतीमा अग्रसर बनाउन ‘टर्निङ पोइन्ट’ बनेको बताउनुहुन्छ । “भ्रमणपछि तत्कालीन कृषि ज्ञान केन्द्र मार्फत तरकारी खेतीका लागि पलास्टिक टनेल बनाउन कार्यक्रम प¥यो,” उहाँले भन्नुभयो “परिक्षणका लागि मैले खेतमा बनाएको दुई वटा टनेलमा गोलभेडा खेती सफल भएपछि अरुले पनि खेती गर्न थाले । अहिले गाउँभरी करिब ५० वटा टनेलमा गोलभेडा खेती भएको छ ।”
करिब रु. ७५ हजारको लागतमा तयार हुने पलास्टिक टनेलभित्र एक याममा रु. एक लाख ५० हजार सम्म आम्दानी लिन सकिने किसानहरुको अनुभव छ । “पहिले तरकारी किनेर खाने डडुवा अहिले तरकारी बेचेर नगद भित्र्याउने भएको छ,” भण्डारीले भन्नुभयो “२० जना भन्दा बढी किसानले ब्यवसायिक रुपमा तरकारी खेती गरेका छौ ।”
पलास्टिक घरमा गोलभेडाको साथै याम अनुसार भेडे खुर्सानी, काँक्रो, सिमी, साग, मुला, गाजर, खुर्सानी, भन्टा लगायत तरकारी खेती गर्छन् । रोजगारीको शिलशिलामा करिब एक दशक बहराइनमा बिताएका भण्डारीले हाल नौ वटा टनेलमा गोलभेडा खेती गर्नुभएको छ ।
डडुवामा ६५ घरधुरी भएपनि केही बसाई सराई गरेर बेनी तथा पोखरा बस्छन् । गाउँमा भएका सबैजसोले तरकारी खेती गरेका छन् । बेनी र पोखरामा तरकारी बिक्री हुन्छ । पुलाचौर हुदै डडुवा जोड्ने कच्चि सडकमा तरकारी ढुवानी गराउन समस्या हुने, सिचाईका लागि पानीको अभाव, प्राबिधिक सहयोगको कमी र उत्पादनले उचित मूल्य नपाउने चुनौति रहेको छ ।
बजारमा ग्राहकले रु. एक सय २० प्रतिकिलोका दरले खरिद गर्ने गोलभेडा डडुवाका किसानले आधा मूल्य रु. ६० का दरले बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोला डडुवा पछिल्लो समय तरकारी खेतीमा नमुना बन्दै गएको बताउनुभयो । किसानहरुलाई साना सिचाई कार्यक्रम मार्फत पोखरी निर्माण, पलास्टिक घर, यान्त्रिक हलोमा अनुदान सहयोग उहाँले बताउनुभयो ।
बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाले बेनी देखि पुलाचौर सम्मको सडक पक्की बनाएको बताउदै यसपाली पुलाचौर देखि नयाँगाउँ खण्डमा स्तरोन्नति गर्ने तयारी भएको बताउनुभयो । बेनी नगरपालिकाको मात्र नभएर जिल्लाभरका किसानहरुले उत्पादन गरेको तरकारी, फलफुल र पशुजन्य उपजको बजारीकरणका लागि बेनीमा कृषि बजार सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो ।
