घुमाउनेताल–मौवाफाँट सडक कालोपत्रको तयारी

Gandaki Ghumau

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्रको तयारी भएको छ ।

रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा कालीगण्डकी कोरिडोरको घुमाउने ताल देखि पिप्ले हुदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो । दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नति सहित कालोपत्रे योजना शुरु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।

“कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक अन्तर्गत घुमाउने ताल देखि गाउँपालिका केन्द्र मौवाफाँट जोड्ने ६ किलोमिटर चारसय मिटर सडक कालोपत्रे गर्न लागिएको हो,” उहाँले भन्नुभयो “४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको प्रवर्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ८० प्रतिशत र पालिका भित्र निर्माण सम्पन्न भएका र निर्माणाधीन अन्य जलविद्युत आयोजनाहरुको २० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नतिसहित कालोपत्रे योजना अगाडि बढाइएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

घुमाउने तालदेखि पिप्ले हुँदै पालिका केन्द्र मौवाफाँट चोकसम्म कालोपत्रे र त्यहँदेखि बुक्ल–बाँधस्थल खण्डको सडक ग्राभेल सहित खोल्साहरुमा कलभर्ट निर्माण गरिने योजना छ । साँघुरो, जिर्ण र कच्ची सडकलाई, घुम्ती सुधार, नाली, पर्खाल तथा ग्यावियन निर्माण गरी फराकिलो पारेर कालोपत्रे योजना थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

जलविद्युत् आयोजनाहरुले पहुँच मार्गका रुपमा प्रयोग गरेको सडक स्तरोन्नतिका लागि गाउँपालिकाले धेरै प्रयास गरेपछि अहिले आएर सार्थकता पाएको उहाँले बताउनुभयो । गाउँपालिकाको संयोजनमा एकवर्ष अघि भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए अनुसार कालोपत्रेको योजना अघि बढेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

हाल रघुगङ्गा हाइड्रोपावरले सडक फराकिलो पार्ने, नाली निर्माण र सबबेस हाल्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो । उहाँका अनुसार राहुघाट जलविद्युत आयोजनाले कालोपत्रे गर्ने काम बाहेकका सम्पूर्ण कामहरु गर्ने र अन्य जलविद्युत आयोजनाहरुले कालोपत्रे गर्ने खर्चको २० प्रतिशत लागत ब्यहोर्ने गरी सम्झौता भएको छ । आगामी कार्तिक १५ गते सम्म सडक स्तरोन्नतिको काम सक्नुपर्ने आयोजनासँग लिखित सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

सडक स्तरोन्नति सहित कालोपत्रे भएपछि रघुगंगाका आठ वटै वडाका बासिन्दाहरुलाई सहज हुने जनाइएको छ । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, २१.३ मेगावाटको ठूलोखोला, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला ‘ए’ लगायतका आयोजनाहरू सञ्चालनमा छन् । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले परिक्षण उत्पादनको तयारी गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...