
बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।
वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने पूर्णगाउँका बासिन्दाहरुलाई गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मंगला गाउँपालिकाले इकाई सञ्चालन गरेको हो ।
राष्ट्रिय जनजागृति माविको भवनमा यसै हप्ता स्थापना भएको इकाईमा गाउँपालिकाले एक जना अनमी खटाएको छ । इकाईबाट पूर्णगाउँका दुई सय घरपरिवार लाभान्वित भएका मंगला गाउँपालिकाका वडा सतप्रसाद रोकाले बताउनुभयो ।

“यहाँका बासिन्दाहरुलाई कुहुँमा रहेको वडा स्तरको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक हुने गरेको थियो,” उहाँले भन्नुभयो “स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोप सम्बन्धी सेवा दिने व्यवस्था मिलाइएको छ ।”

मंगला गाउँपालिकाले यसअघि बुकेनी, हिदी, धारा र कुकुरबिसौनामा पनि सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको थियो । कुहुँ, रणवाङ, अर्मन (हाँडेभिर) र बरंजामा स्वास्थ्य चौकी छन् । पूर्णगाउँबासीलाई कुहुँको स्वास्थ्य चौकीमा सेवा लिन जान आउनका लागि दुई देखि तीन घण्टा समय लाग्ने गरेको थियो ।
सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको राष्ट्रिय जनजागृति माविको ब्यवस्थापन समितिका अध्यक्ष मनिष गौचनले जानकारी दिनुभयो ।
“पूर्णगाउँबासीको बर्षौदेखिको सपना र माग पुरा भएको छ,” उहाँले भन्नुभयो “सामुदायिक स्वास्थ्य इकाईको आफ्नै भवन निर्माण नहुँदा सम्मको लागि विद्यालयको एक वटा कोठा उपलब्ध गराएका छौ ।” इकाईको भवन निर्माणका लागि वि.स. २०७९ पुष महिनामा आयोजना गरिएको महायज्ञमा जग्गा र नगद संकलन भएको थियो ।
दाताले दिएको जग्गा इकाईको नाममा लालपुर्जा बनाउन स्थायी लेखा नम्बर आवश्यक पर्ने भएकाले इकाई नहुँदा सम्म महायज्ञमा घोषणा भएको जग्ग प्राप्ति प्रक्रिया अघि बढ्न सकेको थिएन् । इकाई स्थापना भएपछि स्थायी लेखा नम्बर, इकाईको नाममा जग्गाधनीपुर्जा र भवन निर्माणको काम अगाडी बनाउने बाटो खुलेको स्थानीयबासी समेत रहेका राष्ट्रिय जनजागृति माविका प्रअ टेकबहादुर राम्जालीले बताउनुभयो ।
