
बेनी,। म्याग्दीको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति योजना सर्वेक्षणका लागि मंगलबार सर्वेक्षण गरिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ मा समावेश भएको यस योजना बहुबर्षीय ठेक्का प्रक्रियाबाट कार्यान्वयनका लागि स्तरोन्नति गर्नुपर्ने ठाउँ पहिचानका लागि जनप्रतिनिधी र उपभोक्ताहरुको उपस्थितिमा सर्वेक्षण गरिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य माननीय रेशम बहादुर जुग्जाली (सुविन), मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानिया लगायत प्राविधिकहरु, मंगला गाउँपालिका ५ का वडा अध्यक्ष भुपेन्द्र खत्री, वडा सदस्य गुप्तबहादुर रोका, स्थानीय अगुवा चन्द्रप्रसाद बुढाथोकी, प्रेम मगर सहित प्रभावित क्षेत्रका बासिन्दाहरुको उपस्थितिमा सर्वेक्षण भएको छ ।
एक वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदका सिफारिसमा रु. पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरि बहुबर्षीय ठेक्का लगाउने गण्डकी प्रदेशक सरकारको नीति अनुसार माननीय रेशम जुग्जालीको सिफारिसमा चालु आर्थिक वर्षका लागि यस सडक आयोजना सिफारिस भएको छ ।


रु. एक करोड बजेट बिनियोजन भएको यस आयोजनाका लागि प्रदेश सरकारले रु. पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरि बहुबर्षीय ठेक्का लगाउने तयारी भएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो ।
“म्याग्दीको रणनीतिक महत्वको र बागलुङ जिल्लासँग जोडिने पुरानो सडक भएकाले अप्ठ्यारो अप्ठ्यारो ठाउँमा सुधार गर्ने उद्देश्यले योजना छनौट गरिएको हो,” उहाँले भन्नुभयो “यस सडकमा आर्थिक वर्ष २०७९÷८० मा पनि प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यक्रम मार्फत रु. एक करोड बजेट बिनियोजन भएर स्तरोन्नति भएको थियो ।”
यस वर्षको बजेट र कार्यान्वयन हुने योजना मार्फत माटेबगर–पोक मोटरेबल पुल अगाडीको घुम्ती देखि पोक सम्म, नेटाको घुम्ती, खोलाखर्क र अर्मन क्षेत्रको अप्ठ्यारो ठाउँमा ग्रेड तथा मोड सुधार, नाली निर्माण, ग्यावियन पर्खाल निर्माण र ढलान गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख बानियाले बताउनुभयो ।

सर्वेक्षणको आधारमा लागत अनुमान तयार पारिने र अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेपछि ठेक्का आव्हान गर्ने उहाँले बताउनुभयो । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडा अध्यक्ष खत्रीले ओझेलमा परेको तर महत्वपूर्ण सडक योजनालाई प्राथमिकता दिएर योजना भित्र्याउन पहल गरेकोमा सांसद जुग्जालीलाई धन्यवाद दिदै योजनालाई गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गरि प्रभावकारी बनाउन सहजिकरण गर्ने बताउनुभयो ।
वि.स. २०६४ मा मार्ग खुलेको यो सडकको पोक–गहते खण्डमा आधारभूत सुधारको काम भएपनि प्रवेशबिन्दु र नेटा–अर्मन–किमचौर–ताराखोला खण्ड कच्चि र ग्रेड तथा मोड नमिलेका कारण यात्रा गर्न असहज हुने गरेको छ । बजेटले पुगेसम्म अहिले स्तरोन्नति गरिने र बाँकी ठाउँमा पनि स्तरोन्नतिका लागि सरकारसँग पहल गर्ने सांसद जुग्जालीले बताउनुभयो ।


