
बेनी ः विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जिवी श्रेष्ठको यात्रा भने फरक छ ।
१० वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाउनुभयो । व्यापार राम्रै चले पनि २१ वर्षपछि उहाँ फेरि आफ्नै जन्मथलो फर्किनुभयो । अहिले मालढुङ्गा–बेनी सडकछेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, कोइलर कुखुरा र तरकारी उत्पादन गरिरहनुभएको छ ।
फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, सहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जिवीको जिवनयात्रा धेरैका लागि अनुशरणयोग्य बनेको छ ।

“एसएलसी सम्मको अध्ययन गरि रोजगारीको लागि १० वर्ष कतारमा बिताएर फर्किएपछि बुवा सुवास र आमा मिनाले गर्दै आएको तरकारी खेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए,” उहाँले भन्नुभयो “बजारको ब्यापार सन्तोषजनक र सफल भएपनि २१ वर्षपछि जन्मथलो फर्किएर बुवाआमासँगै सात महिनाअघि शुरु गरेको फार्मबाट उत्साही छु ।”
आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर रु. २५ लाख लगानीमा हाँस, कुखुरापालन र ब्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारी खेती गरेका छन् ।

बुवाआमाले फर्सेमा उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जवी र उहाँकी श्रीमति रितुले रामरेखामा घर बनाउनुभयो । एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाउनुभएको छ भने अर्का छोरा काठमाडौमा आइटी विषयमा स्नाकोत्तर अध्ययन गरिरहेका चिरञ्जिवीले बताउनुभयो ।
तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन शुरु गरेको श्रेष्ठले बताउनुभयो । “दुई चरणमा प्रतिकिलो रु. छ सयका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सय वटा लोकल कुखुरा पनि बिक्री गरेको छ,” उहाँले भन्नुभयो “सुरुवाती आम्दानीले उत्साही बनाएको छ ।”
उहाँको फार्ममा हाल चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुई वटा गाई पालेका उनिहरुले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन् ।
उहाँले चिनीया मसकोवी जातको हाँस पाल्नुभएको छ । तीन महिना पालेपछि तीन किलोग्राम भन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थाल्नु भएको छ । स्थानीय स्तरमै हाँसपालन शुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेष्टुरेष्ट ब्यवसायी दिनेश रावलले बताउनुभयो । उहाँका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाईमा परेको छ ।
चिरञ्जिवीका बुवा सुवास र आमा मिना छोराबुहारीले बुढेशकालमा जन्मथलो फर्किएर साथ र साहारा दिएकोमा खुसी व्यक्त गर्नुभयो । “एउटा परिवार दुई तिर हुँदा दुःख भएको थियो,” सुवासले भन्नुभयो “विदेशको राम्रो कमाई हुने जागिर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हार्मीलाई गर्ब लागेको छ ।”
तरकारी खेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जिवीको योजना छ । उहाँहरुका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरु सुविधा र अवसरको खोजीमा बजार झर्ने र विदेशिने गर्दा गाउँबस्ति सुनसान भइरहेको अवस्थामा चिरञ्जिवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गराउनुभएको बताउनुभयो ।

