
बेनी ः बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई सोमबार राहत वितरण गरेको छ । साउन ११ गते बेनी नगरपालिका–३ चिनाखेतमा पहिरोमा पुरिएर ज्यान गुमाएका ७० वर्षीय लालबिर छन्त्यालका परिवारलाई रु. दुई लाख राहत उपलब्ध गराएको हो ।
नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष पदम पुन, कार्यपालिकाको विपद् ब्यवस्थापन समितिका संयोजक अणबहादुर खड्का (भगवान), वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्य, कार्यपालिका सदस्य मनकुमारी बिश्वकर्मा लगायतको टोलीले राहत वितरण गरेको हो ।



मृतक छन्त्यालकी श्रीमति दिलमतीलाई नगर प्रमुख केसीले नगद हस्तान्तरण गर्नुभएको थियो । पहिरोमा पुरिएर लालबिरको मृत्यु र दिलमती घाइते हुनुभएको थियो । १५ घरपरिवार जोखिममा परेका छन् । आमा समूहको सामुदायिक भवन र खेलमैदानमा बाढी पसेर पुरिएको छ ।
खेतबारी र सुन्तला बगैचा पुरिएको छ । नगरपालिकाको टोलीले पहिरोले क्षति पु¥याएको क्षेत्रको निरिक्षण गर्दै रोकथाम र क्षति न्युनिकरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यसअघि मृतकका परिवारलाई गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत किरियाखर्च वापत रु. ५० हजार सहयोग गरेको थियो ।

