
म्याग्दी, ः विज्ञान, प्रविधी तथा नवप्रर्वतन मन्त्री महाविर पुनले नेपालको सम्बृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रर्वतन र आविस्वकारलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।
धवलागिरी गाउँपालिका समाजले शनिबार काठमाडौमा आयोजना गरेको सम्बृद्ध म्याग्दीमा जनप्रतिनिधीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री र वस्तुको उत्पादन गरि रोजगारी सिर्जना तथा आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताउनुभयो ।
“ओझेलमा परेको अनुसन्धान र आविस्कारको क्षेत्रमा वर्तमान सरकारले प्राथमिकता दिएको छ,” म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहनुभएका उहाँले भन्नुभयो “देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि पलायन हुन नदिने गरि मन्त्रालयले कार्यक्रम बनाएको छ ।”

कार्यक्रममा मन्त्री पुनका साथै धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र काठमाडौमा बसोबास गर्ने म्याग्दीबासीहरुबीच म्याग्दीलाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कृषिको आधुनिकीकरण, जलविद्युत, पर्यटन, पशुपालनको माध्यमबाट म्याग्दीलाई सम्बृद्ध बनाउन सकिने मन्त्री पुनको भनाई थियो ।


म्याग्दीमा प्रमुख सामाजिक समस्याको रुपमा रहेको मेलाजात्रालाई ब्यवस्थित नगरेसम्म शिक्षा क्षेत्रको सुधार हुन् नसक्ने मन्त्री पुनले बताउनुभयो । “टोलटोलमा लगातार मेलाजात्रा लगाउँदा किशोरकिशोरीहरुको पढाई नराम्ररी बिग्रेको छ,” उहाँले भन्नुभयो “नामका लागि विदेशबाट मेलाका लागि लाखौ रकम प्रायोजन गर्ने र गाउँमा हप्तौ मेला लगाउने चलन हटाउन सकेमा म्याग्दीको शिक्षा र समाजको सुधार हुन्छ ।”
संघीय सरकारले यसवर्ष धवलागिरी गाउँपालिकाको मुदी देखि गुर्जा हुदै ढोरपाटनको जलजला र अन्नपूर्ण गाउँपालिकाको दोवा देखि सोवाङ धुरी हुदै रघुगंगा गाउँपालिकाको चिमखोला जोड्ने दुई वटा नयाँ पदमार्ग सञ्चालनमा ल्याउने बताउनुभयो ।
बेनी–दरवाङ सडकको फापरखेत र बेनी–जोमसोम सडकको सिरुवारी पहिरो नियन्त्रणको काम बर्खा सकिनेवित्तिकै शुरु हुने मन्त्री पुनले जानकारी गराउनुभयो । संघीय सरकारले म्याग्दीमा रणतीनिक महत्वका सडक आयोजनालाई प्राथमिकता दिने बताउनुभयो ।
पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवंगत भएका म्याग्दीमा जन्मिएका पर्वतरोही निर्मल पुर्जा सहितका पर्वतारोहीहरुको सम्मानमा सरकारले उचित निर्णय लिने मन्त्री पुनको भनाई थियो ।
कार्यक्रममा धवलागिरीका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्णका अध्यक्ष भारतकुमार पुन लगायतले म्याग्दीको सम्भावना, आवश्यकता र भएका कामहरुको विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराउनुभएको थियो ।

