
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानीमा सोमबार साँझ खोलाले बगाएर एक जना वेपत्ता भएका छन् ।
रघुगंगा गाउँपालिका ८ चौरखानीबाट भैसी किनेर ल्याउने क्रममा एकतारे खोला तर्ने क्रममा ३५ वर्षीय भिमबहादुर घर्तीलाई खोलाले बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार भैसी सहित वेपत्ता भएका घर्तीको चिमखोलाबाट गएका प्रहरी र स्थानीयबासीले राती अबेरसम्म खोजी गरेपनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको छ ।

घर्तीसँगै रहेका मुलपानीका देवेन्द्र मैलियाले खोलाले बगाएको विषयमा गाउँले, आफन्त र प्रहरीलाई जानकारी गराएका थिए । मंगलबार पनि वेपत्ताको खोजी कार्यलाई निरन्तरता दिने प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो ।

