
बेनी, साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम शिवालयमा बिहानैदेखि पूजाआजा र दर्शन गर्ने भक्तजनको उल्लेख्य चहलपहल देखिएको छ।
भगवान् शिवको प्रिय महिना मानिने साउनका सोमबार विशेष महत्वका साथ मनाइने भएकाले म्याग्दीसहित पर्वत, बागलुङ, मुस्ताङ, कास्की तथा अन्य जिल्लाबाट आएका श्रद्धालु भक्तजनले गलेश्वरधाममा जलाभिषेक, रुद्राभिषेक तथा विशेष पूजाआजा गरेका छन्। साउने व्रत बसेका महिलासहित परिवारको सुख, शान्ति, समृद्धि र मनोकामना पूरा होस् भन्ने कामनासहित भक्तजन बिहानैदेखि मन्दिर पुगेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

कालीगण्डकी नदीको पवित्र जल चढाएर शिवको आराधना गर्ने, १०८ शिवलिङ्गमा जल अर्पण गर्ने तथा गौमुखी धारामा स्नान गर्ने भक्तजनको पनि दिनभर घुइँचो लागेको थियो। मन्दिर परिसरमा दर्शनार्थीको सहज व्यवस्थापनका लागि स्वयंसेवक तथा सम्बन्धित निकाय परिचालन गरिएको थियो।

कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वरधाम पश्चिम नेपालको प्रमुख शिवतीर्थमध्ये एक मानिन्छ। हिन्दू धर्मग्रन्थअनुसार सतीदेवीको गला पतन भएको स्थानका रूपमा गलेश्वरको धार्मिक महत्व रहेको विश्वास छ। साउन महिनाका सोमबार, महाशिवरात्रि र बालाचतुर्दशीका अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार साउने सोमबारमा भक्तजनको सुविधालाई ध्यानमा राखेर दर्शन, पूजाआजा, सुरक्षा, खानेपानी र भीड व्यवस्थापनका आवश्यक प्रबन्ध मिलाइएको छ। धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको गलेश्वरधाममा साउने सोमबारका अवसरमा प्रत्येक वर्ष हजारौँ भक्तजन पुग्ने गरेका छन्।

