
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरमा रहेको अन्नपूर्ण जगन्नाथ कृषि फार्ममा पहिरोले करोडौको क्षति पुगेको छ ।
न्युजील्याडबाट फर्किएर धारापानीका चक्र थापाले करिब रु. दुई करोड लगानीमा खोलेको कृषि फार्मका संरचना र बगैचा यही साउन ११ गतेको बर्षातपछिको पहिरोले सखाप बनाएको हो । चुनढुंगा भन्दा ठाउँदेखि खसेको पहिरोले बाख्राको खोर, भैसीको गोठ, फलफुलको बगैचा र कर्मचारी आवास भवन पूर्ण रुपमा क्षति भएको फार्मका सञ्चालक थापाले बताउनुभयो ।



“करिब रु. दुई करोड खर्चेर बनाएको संरचना र बगैचामा पहिरोले पुरिएर सखाप बनायो,” उहाँले भन्नुभयो “थप पहिरोको जोखिम तथा बस्न सक्ने अवस्था नभएकाले फार्मका भैसी र बाख्रा पनि धारापानीमा स्थानान्तरण गरेका छौ ।”
चार सय बाख्रा अटाउने क्षमताको खोरभित्र पहिरो पसेर पुरिएको थापाले बताउनुभयो । उहाँका अनुसार २० भन्दा बढी बाख्राहरु पनि पहिरोमा पुरिएका छन् । दुई हजार कुखुरा र असी वटा हाँसको क्षति भएको छ ।
भैसीहरु भने सकुशल रहेकाले धारापानी लगिएको छ । करिब २० रोपनी क्षेत्रफलमा लगाएको सुन्तलाका बिरुवाहरु पुरिएका छन् । थप चार रोपानीमा फैलिएको अमिलो, भोगटे, निबुवा, आँप, लिची, अनार, जुनार, नासपाताी, खुरपानी, एभोकाडो, अमलाको बगैचा पनि हिलोले पुरिएको छ । चार सय रोपनीमा फार्म फैलिएको छ ।
इलाका प्रहरी कार्यालय दरवाङका सुरक्षा कर्मीहरुको टोलीले क्षतिग्रस्त फार्मको स्थलगत निरिक्षण र क्षतिको विवरण संकलन गरेर लगेका सञ्चालक थापाले बताउनुभयो । साउन ११ गते बिहान पहिरो आएपछि पुरिएकी धनकुमारी थापा लगायत हाँडेभिरमा रहेका तीन जनालाई सुरक्षाकर्मी र खाराका बासिन्दाहरुले उद्दार गरेका थिए ।

