बेनीका किसानलाई २५ लाख बढी उत्पादनमा आधारित अनुदान वितरण

Gandaki Ghumau

बेनी, ३१ असार ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा ब्यवसायिक तरकारी खेती र पशुपालन गरेका किसानहरुलाई रु. २५ लाख भन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ ।

नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम मार्फत एक सय १६ जना किसानहरुलाई रु. २५ लाख ६९ हजार नौ सय ८३ अनुदान वितरण गरेको हो । ५९ जना तरकारी खेती गरेका किसानलाई रु. १३ लाख ४९ हजार नौ सय ८३, ३८ जना बाख्रा तथा २८ जना गाईभैसीपालक किसानलाई रु. १२ लाख २० हजार अनुदान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु. १५ लाख, तरकारीमा रु. १० लाख र मासुमा रु. सात लाख ५० हजार बजेट बिनियोजन भएको थियो । पशु सेवा शाखामा परेको ६६ आवेदनमध्ये स्थलगत अनुगमनपछि ५७ वटा व्यावसायिक फार्म छनोट भएका थिए । न्यूनतम रु १३ हजारदेखि अधिकतम रु ४५ हजारसम्म अनुदान उपलब्ध गराइएको पशु चिकित्सक डा सुदीप पौडेलले बताउनुभयो ।

Shreekrishna

तरकारीतर्फ कृषि शाखामा ६३ वटा आवेदन परेकामा ५९ किसान तथा कृषक समूह छनोट भएका थिए । काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, अकबरे खुर्सानी, मूला, गाजर, प्याज र लसुन उत्पादन गर्ने किसानलाई खेती गरिएको क्षेत्रफल र बिक्री भएको उत्पादनका आधारमा अनुदान प्रदान गरिएको कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो ।

Gunasthariya Shiksya

थोरै नगद प्राप्त भएपनि यो कार्यक्रमले मिहिनेत गर्ने किसानलाई प्रत्यक्ष लाभ पुगेको बेनी नगरपालिका–१ रत्नेचौरका निरबहादुर थापाले बताउनुभयो । “उत्पादनका आधारमा अनुदान दिँदा वास्तविक किसान छुट्दैनन्,” उहाँले भन्नुभयो “साना किसानलाई व्यवसाय विस्तार गर्ने आत्मविश्वास बढेको छ ।”

आर्थिक वर्ष २०८०÷०८१ देखि गाईभैसी र बाख्रापालकलाई दिदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि तरकारी खेती गर्ने किसानलाई पनि उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरि आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

“किसानलाई व्यवसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ,” उहाँले भन्नुभयो “सझौला र साना किसानहरुलाई पनि समेट्ने गरी कार्यबिधी बनाएका छौ ।”

कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक उद्यमी गरी चार वर्गमा विभाजन गरेको छ । वर्गअनुसार रु १५ हजारदेखि ४५ हजारसम्म अनुदान उपलब्ध गराइन्छ । यसका लागि दूध उत्पादन, बाख्रापालन वा तरकारी उत्पादन तथा बिक्रीका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पशुपालक कृषकलाई व्यवसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर –८ कालीपुलमा कृषि बजार सञ्चालनको तयारी गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...