
बेनी, ः ‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ ।
ह्युम कन्सल्ट प्रा.ली. प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदी स्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार असार २८ गते दिउँसो ३ बजेदेखि विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको हो ।

रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ । इन्टेकमा गेग्रान थुप्रिएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सूचारु गराउन समस्या भएको छ ।

बाँधका भौतिक संरचना क्षति भएको छ । आयोजनाले बिद्युत बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ । गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत २२० केभी क्षमताको दाना सवस्टेशन मार्फत केन्द्रिय प्रणालीमा आवद्ध भएको छ ।

