
बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
५० प्रतिशत अनुदानमा १७ वटा यान्त्रिक हलो र पाँच थान बगैचा गोडमेलमा प्रयोग हुने ‘पावर उइडर’ वितरण गरेको हो । कृषि कार्यमा उत्पादन लागत घटाउने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ मा बिनियोजन गरेको रु. पाँच लाख बजेटबाट उपकरण गरिद गरि कृषकहरुबाट माग संकलन गरि वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषि यान्त्रिकरण सहित यस वर्ष गाउँपालिकाले कृषितर्फ विभिन्न १५ वटा शिर्षकमा बिनियोजन गरेको रु. ४९ लाख बजेटका कार्याक्रमहरु सम्पन्न भएका छन् । रु. पाँच लाख बजेटबाट चार सय जना कृषकहरुलाई एक हजार छ सय किलोग्राम आलुको विउ वितरण भएको छ ।


रैथानी बाली उत्पादन प्रोत्साहन कार्यक्रम मार्फत जुनेली, केराउ, कालो भट्ट, गहत, मास, घैया, लट्टे, फापर, उवा, मस्याङ, बोडी, कोदो, काडे मकै, तोरीको धेरै उत्पादन गर्ने २० जना किसानहरुलाई रु. १५ हजारका दरले अनुदान उपलब्ध गराएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक सम्झना खत्रीले बताउनुभयो ।
टिकोटको हरिमुल कृषक समूह मार्फत सञ्चालित तरकारी पकेट कार्यक्रमलाई निरन्तरता, पाँच वटा कृषि फार्ममा पलास्टिक घर निर्माणका लागि रु. एक÷एक लाख अनुदान, एक सय ८३ जना कृषकहरुलाई फलफुल बगैचा सुदृढीकरणका लागि कृषि सामग्री वितरण गरेको छ ।
रु. चार लाख बजेटबाँट पाँच सय जना कृषक, समूह, सहकारी र फार्मलाई निशूल्क रुपमा मौसमी तथा बेमौसमि तरकारीका बिउ वितरण, फलफुल खेती प्रर्वद्धन कार्यक्रमबाट ६० प्रतिशत अनुदानमा दुई हजार नौ सय सुन्तला र छ सय ५० कागतीका बिरुवा वितरण भएको छ ।
सात सय २० कृषक परिवारको कृषि तथ्यांक संकलन, माटो शिविर र कृषि चुन कार्यक्रमबाट ९२ जना कृषक लाभान्वित भएका, ८२ जना कृषकलाई रासायनिक, जैविक विषादी र सुश्म तव्व वितरण गरेको छ ।

