महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति

Gandaki Ghumau

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी बजार देखि पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको बैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडकको टुनीखर्क खण्डमा स्तरोन्नति सम्पन्न भएको छ ।

बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको सडकलाई फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान र कालोपत्र गरेको हो । रु. एक करोड ६१ लाख लागत अनुमान गरिएको सडक निर्माणका लागि २०८२ पुष महिनामा रु. एक करोड १५ लाखमा शंकर निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।

योजना मार्फत तीन सय ५० मिटर दुरीमा प्रिमिक्स प्रबिधीको कालोपत्र र चार सय मिटर ढलान भएको बेनी नगरपालिकाका सिनियर सबइञ्जिनियर कमल थापाले बताउनुभयो । तीन सय ५० मिटरमा पक्की नाली र चार सय घनमिटर पलम पर्खाल निर्माण भएको छ ।

Shreekrishna

यसअघि तीन देखि चार मिटर फराकिलो सडकलाई छ मिटर चौडा बनाइएको छ । निर्माण सम्पन्न भइसकेको सडकमा केहीदिनअघि पाखोबाट आएको बाढीले भत्काएको पर्खाल पुननिर्माण गरिएको निर्माण ब्यवसायी समिर पौडेलले बताउनुभयो ।

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि तथा बिटुमीन अभावको बावजुद पनि निर्धारित समयमै योजना सम्पन्न गरेको उहाँले बताउनुभयो । सडक स्तरोन्नति भएपछि छाप, थाकनपोखरी, सेताढुङ्गा, डाडाखेत र भिरमुनीका बासिन्दालाई सहज भएको छापका प्रकाश जि.सी.ले बताउनुभयो ।

Gunasthariya Shiksya

आर्थिक वर्ष २०६४÷६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग हो ।

रणनीतिक महत्वको वैकल्पिक सडक भएकाले बेनीको महारानीथानदेखि डाडाबारी–छाप, डाडाखेत हुदै ठूलोखोलाको विभिन्न ठाउँमा पछिल्लो चार वर्षयता स्तरोन्नतिको कामलाई निरन्तरता दिइएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

आर्थिक वर्ष २०८०÷८१ मा बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको थियो । आर्थिक वर्ष २०८१÷०८२ मा छाप क्षेत्रमा कालोपत्र भएको थियो । त्यसअघिको बर्षमा ठूलोखोला देखि डाडाखेत खण्डमा घुम्ती र मोड सुधार तथा ढलान भएको थियो ।

बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिएको छ । सडकको प्रवेशमार्गमा पर्ने कुरिलाखर्क क्षेत्रको सडकलाई प्राथमिकता दिनुपर्ने स्थानीयबासीहरुको माग छ ।

आगामी आर्थिक वर्ष २०८३÷०८४ मा यो सडक आयोजनामा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय, म्याग्दी मार्फत कार्यान्वयन हुने गरि रु. २५ लाख बजेट बिनियोजन गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...