
बेनी, म्याग्दीको मालिका गाउँपालिकाले दलितसँग अन्तरजातीय बिवाह गरेका २५ जोडीलाई सम्मान गरेको छ ।
फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले आइतबार प्रोत्साहनस्वरुप प्रतिजोडी नगद रु. तीन हजार पाँच सय नगदसहित सम्मान गरेको हो । लक्षित समुदायको कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।
“हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “पालिकामा रहेका सात वटै वडाबाट दलित समुदायसँग अन्तरजातीय बिवाह गरेका जेष्ठ नागरिक देखि युवा युवतिहरुलाई सम्मान गरेर जातीय विभेद अन्त्य गर्नुपर्ने सन्देश प्रवाह गर्न खोजिएको हो ।”



गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडा अध्यक्ष उदयबहादुर बुढाथोकी, पथबहादुर रोका, कार्यपालिका सदस्य प्रतिक्षा रसाईली, दलबहादुर खड्काथोकी, वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष मानसिंह सापकोटा लगायतले सम्मान गर्नुभएको थियो ।
अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उनीहरू खुसी भएका कार्यपालिका सदस्य रसाइलीले बताउनुभयो । गाउँपालिकामा पहिलो पटक अन्तरजातीय बिवाह गरेकाहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

