
बेनी, यस वर्ष म्याग्दीका किसानहरुलाई वितरण गर्नका लागि बिस हजार घाँसका बिरुवा उत्पादन भएको छ ।
भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतले बेनीमा रहेको नर्सरीमा राईखन्यु र निमारो जातको बिरुवा उत्पादन गरेको हो । नर्सरीमा उत्पादन भएको २० हजार घाँस प्रजातिका बिरुवा यही असार २० गतेदेखि बेनीमा वितरण गर्न थालिने कार्यालयका प्रमुख बरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भुकुमार मिश्रले बताउनुभयो ।

पशुपालक कृषकहरुलाई पशु आहरा आपुर्ति सहज बनाउने र भुक्षय रोकथाम गर्ने उद्देश्यले बहुबर्षीय डालेघाँस खेतिमा प्रोत्साहन गरेको उहाँले बताउनुभयो । पाखोबारीको कान्ला, खोल्सा र सडकको छेउछाउमा विगतका वर्षमा गरिएको डालेघाँसको वृक्षारोपण भुक्षयरोकथाम र पशु आहरा आपुर्तिका लागि प्रभावकारी बनेको छ ।

यसैगरी डिभिजन वन कार्यालय म्याग्दीले मंगलबारदेखि फलफुलका बिरुवा वितरण गर्न थालेको छ । एक हजार पाँच सय ५७ सुन्तला, दुई हजार सितल चिनी, पाँच सय कागती, दुई हजार जापनिज कटुस, सात सय आँप, पाँच सय लिची, एक हजार एभोकाडो, पाँच सय अगरउड र पाँच सय कुरिलोका बिरुवा वितरण गरिने डिभिजनल वन अधिकृत बसन्तकेशव अधिकारीले बताउनुभयो ।

