
नेपाली र मगर खाम दुवै भाषामा पठनपाठन
दरवाङ ः म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन गरेको छ ।
कक्षा १, २ र ३ को पुस्तकलाई नेपालीका साथै मगर खाम भाषामा पनि छपाइएको छ । पुस्तकको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मंगलबार दरवाङमा बिमोचन गर्नुभयो । सात वटा वडा रहेको मालिका गाउँपालिकामा मगर समुदायको बाहूल्य बसोबास रहेको छ । नेपाली र मगर खाम भाषामा एकै पटक पठनपाठन गराउन मिल्ने गरि पुस्तक छपाई गरेको मालिका गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो ।

“कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम पनि तयार भएको छ,” उहाँले भन्नुभयो “नेपालीसँगै मगर खाम भाषाका बाक्यहरुलाई पनि एउटै पृष्ठमा राखिएकाले दुई वटा भाषामा सँगै पठनपाठन गराउन सकिने बनाएका छौ ।”
शिक्षा अधिकृत रिजालका अनुसार गाउँपालिकाले स्थानीय शिक्षक र शिक्षा शाखाका कर्मचारीहरुको सहयोगमा नेपाली भाषामा तयार पारिएको पुस्तकलाई कर्णजित बुढामगरले मगर खाम भाषामा रुपान्तरण गराउनुभएको हो ।
मगर समुदायका बालबालिकाले खाम र अन्य समुदायका बालबालिकाले नेपाली भाषामा स्थानीय पुस्तक अध्ययन गर्न पाउँछन् । पुस्तकमा मालिका गाउँपालिकाको परिचय, जनजिवन, कृषि, धार्मिक, पर्यटकीय, ऐतिहाँसिक स्थल, गाउँबस्ति, वनस्पति, प्राकृतिक सम्पदा देखि खेती, पशुपालन र पेशा ब्यवसायका विषयबस्तु समेटिएको छ ।

सात वटा वडा रहेको मालिका गाउँपालिकामा रहेका नीजी सहित ४२ वटै विद्यालयलाई पुस्तक उपलब्ध गराइएको छ । नेपालीमा ‘हाम्रो मालिका’ नामारण भएको पुस्तकलाई मगर खाममा ‘गेंमी मालिका’ भनिएको छ ।
स्थानीय पुस्तकले बालबालिकाहरुलाई आफ्नो स्थानीय तहको बारेमा सिक्ने र बुझ्ने दिनुका साथै लोप हुने अवस्थामा रहेको मगर खाम भाषाको पुनउत्थान हुने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
“मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि मगर खाम भाषाको पुस्तक तयार पारेर पठनपाठन शुरु गरिएको हो,” उहाँले भन्नुभयो “बालबालिकालाई दैनिक बोलिचाली र जिवनयापनमा बढी प्रयोग हुने शब्दावलीहरुलाई पुस्तकमा समेटिएको छ ।”
पुस्तक बिमोचन कार्यक्रममा आगामी आर्थिक वर्षमा संघीय सरकारको रु. ७७ लाख बिशेष अनुदानमा मालिकाका सामुदायिक विद्यालयलाई प्रबिधिमैत्री बनाउने, शिक्षकहरुको क्षमता विकास र शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
मगर खाम भाषा पठनपाठनका लागि जनशक्ति तयार पार्ने र क्षमता विकास गर्ने उद्देश्यले यसअघि गत वर्ष शिक्षक र सरोकारवालाहरुलाई भाषा तालिम दिइएको थियो । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले स्थानीय पुस्तक आफ्नै भाषामा पठनपाठन गर्ने पाउँदा बालबालिकाहरुलाई सिक्न र बुझ्न सहज हुने बताउनुभयो ।
नेपाल एकिकरणको समयदेखि तत्कालिन रिडीखोला÷कालीगण्डकी नदीदेखि पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरुको अस्तित्व मेटिएसंगै मगर खाम भाषा र लिपीको समेत इतिहास मेटिदै गएको थियो । मालिकामा मगर बाहेक, दलित, ब्रह्माण, क्षेत्री, थकाली र गुरुङ समुदायको बसोबास छ ।
यसअघि म्याग्दीको रघुगंगा गाउँपालिकाले पनि मगर खाम भाषामा पठनपाठन शुरु गरेको थियो । बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाले यसअघिनै स्थानीय पुस्तक पठनपाठन गराउन थालेका थिए ।

