
बेनी, बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सम्मानित जिल्ला अदालत म्याग्दीको २०८० फागुन ३० गतेको फैसलाले बैंकिङ कसुर सम्बन्धी मुद्दामा रु. ३५ लाख जरिवाना तोकिएकी म्याग्दीको मंगला गाउँपालिका–१ र्यालेखोर स्थायी घर भएकी २८ वर्षीया सविना बोहरा क्षेत्रीलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार क्षेत्रीलाई असार १५ गते साँझ मुस्ताङको जोमसोम बजार क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा म्याग्दीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

पक्राउ परेकी क्षेत्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत म्याग्दीमा पेश गरिएको र अदालतको आदेशपछि आजै कारागार चलान गरिएको प्रहरी निरीक्षक तिमिल्सीनाले जानकारी दिनुभयो।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।

