
बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाका विभिन्न स्थानबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ ।
रघुगंगा गाउँपालिका–५ स्थित झिँ सामुदायिक वन र वडा नम्बर ७ चिमखोलाको मेरोल पैरोबाट तीन÷तीन थान बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पाखापानी प्रहरी चौकीका प्रहरी परिष्ठ हवल्दार मानसिंह थापा र चिमखोला अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार सुरज घर्ती क्षेत्रीको टोलीले झाडी र ढुंगाको चेपमा लुकाएर राखेको अवस्थामा बन्दुक बरामद गरेको हो ।


प्रहरी नीरीक्षक सागर तिमिल्सीनाले बन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियान अन्र्तगत बन्दुक बरामद गरेर बेनी ल्याइएको जानकारी दिनुभयो ।
२०८२ मंसिर १५ गतेदेखि शुरु भएको ‘ब्राबोसेरा’ अभियान मार्फत हालसम्म एक सय ५६ थान इजाजत नभएका बन्दुक बरामद भएको उहाँले जानकारी दिनुभयो । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनहरुमा वन्यजन्तुको चोरी शिकारीका साथै आपसी बिवाद र झैझगडामा समेत प्रयोग हुने जोखिम भएकाले अबैध बन्दुक बरामद गर्ने अभियान चलाएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताउनुभयो ।
अबैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । स्थानीयबासीहरुको सूचना तथा सहयोग समेतमा जंगल, रुखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।
प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने ब्यवस्था छ । प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु. पचास हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था छ । अबैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ ।

