
बेनी ः बेनीमा रु. दुई लाख २२ हजार दुई सय २२ पुरस्कार राशीको वौद्ध कप फुटबल प्रतियोगिता–२०८३ आयोजना भएको छ ।
बेनीको मंगलाघाटमा रहेको बौद्ध युवा क्लबको आयोजनामा आगामी असोज अन्तिम साता सञ्चालन हुने प्रतियोगिताको तयारीका बारेमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारीका साथै लोगो सार्वजनिक गरिएको हो ।
वौद्ध युवा क्लवका अध्यक्ष दुर्गा बुढामगरले यो पुरस्कार राशी साविक धौलागिरि क्षेत्रमै हालसम्मको सर्वाधिक धेरै धनराशीको भएको बताउनुभयो । प्रतियोगितामा उपबिजेताले रु. एक लाख ११ हजार एक सय ११ र तेस्रो हुनेले रु. ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै अनुशासित टिमलाई रु. २२ हजार दुई सय २२ प्रदान गरिने छ ।


उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद रु. सात हजार ७७७ का दरले पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बुढाले बताउनुभयो । प्रतियोगिता खुला रहने छ र प्रत्येक टिमले बढीमा दुई जना विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ ।
देशभरका जुनसुकै क्लब तथा टिमले आफ्ना उत्कृष्ट खेलाडी सहभागी गराउन सक्ने छन् भने विदेशी खेलाडी अधिकतम दुई जनामात्रै समावेश गर्न पाइने क्लबले स्पष्ट पारेको छ । प्रतियोगिता सञ्चालनका लागि रु. १६ लाख ५७ हजार सात सय ७२ खर्च हुने अनुमा गरिएको बौद्ध युवा क्लबका कोषाध्यक्ष कमल घर्तीमगरले बताउनुभयो ।
२०८३ असोज २५ देखि ३० गतेसम्म बेनी नगरपालिका–७ स्थित बेनी बजारको खुल्ला मञ्चमा सञ्चालन हुने छ । ९ ए साइड स्वरूपमा हुने प्रतियोगिता फिफाले तोकेको मापदण्डअनुसार सञ्चालन गरिने बौद्ध युवा क्लबका श्यामसुन्दर कँडेलले बताउनुभयो । –

