
बेनी, ः म्याग्दीको मालिका गाउँपालिकाले किसानहरुलाई अनुदानमा मिनिटेलर (यान्त्रिक हलो) वितरण गरेको छ ।
७२ जना किसान, फर्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषि कार्यको लागत घटाउन, कृषकहरुको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताउनुभयो ।
“वडा कार्यालय मार्फत किसानहरुबाट माग संकलन गरेर संख्या निर्धारण गरि पालिकाले बिनियोजन गरेको बजेटको सिमा भित्र रहेर ठेक्का प्रतिस्पर्धाबाट मिनिटेलर हलो खरिद गरेर वितरण गरेका हौ,” उहाँले भन्नुभयो “खेतबारी खनजोत गर्दा समयको बचत र लागत घटाउने उद्देश्यले कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।”


डिजेलबाट चल्ने ५७ वटा र पेट्रोलबाट चल्ने २४ वटा ट्याक्टर वितरण गरिएको हो । क्षमता र गुणस्तर अनुसार ट्याक्टरको मूल्य प्रतिगोटा रु. ३५ हजार देखि रु. ४८ हजारमा आपुर्ति गर्ने कबोलेका आपुर्तिकर्ता छनौट भएका थिए । तोकिएको मूल्यमा किसानले ४० प्रतिशत रकम तिरेका हुन भने ६० प्रतिशत गाउँपालिकाले भुक्तानी गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालका अनुसार यान्त्रिक हलो खरिद र वितरणका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ मा रु. ३२ लाख भन्दा बढी बिनियोजन गरेको थियो । गाउँपालिका र वडा कार्यालयले यान्त्रिक हलो वितरणका लागि बिनियोजन गरेको बजेटलाई एकिकृत गरेर खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।
खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलरको प्रयोग बढेको छ । एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनिटेलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झञ्जट हटेको किसानहरुको अनुभव छ । मिनिटेलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झञ्जट हटेको छ । मिनिटेलर लगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको छ ।

