
म्याग्दी, — विश्व योग दिवसको अवसरमा म्याग्दी जेसीजको आयोजनामा म्याग्दी सदरमुकामस्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा तीन दिने योग शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८३ असार ५ गतेदेखि ७ गतेसम्म (१९–२१ जुन २०२६) सञ्चालन भएको उक्त शिविरले योग, प्राणायाम तथा ध्यान अभ्यासमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमको संयोजन म्याग्दी जेसीजकी साधारण सदस्य जेसी अस्मिता भण्डारी लामिछानेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पनि उहाँले नै गर्नुभएको थियो। म्याग्दी जेसीजका महासचिव जेसी गोकुल बिकले स्वागत मन्तव्य व्यक्त गर्दै योगको महत्व र यसले स्वस्थ जीवन निर्माणमा खेल्ने भूमिकाबारे प्रकाश पार्नुभएको थियो।


शिविरमा योग प्रशिक्षक दिपेन्द्र कुमार विश्वकर्मा र कमल कुमारी पुनले सहभागीहरूलाई विभिन्न योग आसन, प्राणायाम तथा ध्यान अभ्यास गराउनुभएको थियो। प्रशिक्षकहरूले नियमित योग अभ्यासले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभएको थियो।
तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा म्याग्दी जेसीजका सदस्यहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले योग अभ्यासबाट प्राप्त ज्ञानलाई दैनिक जीवनमा अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
म्याग्दी जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी दिनेश कुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योगमार्फत स्वस्थ, सकारात्मक र अनुशासित समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यसहित शिविर आयोजना गरिएको जनाइएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने कर्मचारी मिलन केन्द्र, प्रशिक्षकहरू, सहभागीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति म्याग्दी जेसीजले आभार व्यक्त गरेको छ।

