
म्याग्दी, ः म्याग्दीको बेनी नगरपालिका–२ खबराको केरा खेतीमा देखिएको समस्या पहिचान गर्न प्राबिधिक टोलीले नमुना संकलन गरेका छन् ।
पसाउने बेलामा केराका बोट टुप्पाको पात पहेलो हुने र जरामा कालो भएर मर्ने समस्या पहिचान गर्न गण्डकी प्रदेशको कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय म्याग्दी र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राबिधिक टोलीले बिहिबार खबराको बगैचा निरिक्षण गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले खबराको केरा खेतीमा देखिएको समस्या पहिचान गर्न प्राबिधिक टोलीले नमुना संकलन गरेर प्रयोगशालामा लगेको जानकारी दिनुभयो ।

“समस्या देखिएका बगैचाको निरिक्षण, किसानसँग अन्तरक्रिया गर्नुका साथै गुमा, थाम, पात, जराको भागको नमुना संकलन गरेर प्रयोगशालामा पठाएका छौ,” उहाँले भन्नुभयो “प्रयोगशालाको प्रतिवेदनको आधारमा रोग पहिचान गरि नियन्त्रणको प्रयास गरिनेछ् ।”

प्रदेश कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी र कृषि अनुसन्धान परिषद्का प्राबिधिक अधिकृत सुजाता केसीले समस्या देखिएको बगैचाबाट बोटबिरुवा अन्यत्र लैजान र कृषि औजारलाई अन्यत्र प्रयोग गर्दा सरसफाई गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् । केराखेती खबराको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पलेलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसानहरु चिन्तित बनेका बताउनुभयो ।
सबैजसो बगैचामा केराको गुभो (बोटको भित्रीभाग) कुहिने र बोट सुक्ने समस्या देखिएको कृषक कृष्ण सापकोटाले बताउनुभयो । खबरामा सात सय रोपनी क्षेत्रफलमा केराखेती विस्तार भएकोमा, १५ प्रतिशत बगैचामा समस्या देखिएको र ३० प्रतिशत उत्पादन घटेको कृषक दिपक सापकोटाले बताउनुभयो ।
केराखेतीबाट मासिक न्युनतम १०–१२ हजारदेखि ५० हजारभन्दा बढी कमाउने कृषक छन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ । विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्एको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो ।

