
बेनी, ः म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यबाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरु रासायनिक मल नपाएर समस्यामा परेका हुन् ।
माग अनुसार मल आपुर्ति हुँदा अभाव भएको हो । म्याग्दीको उच्च पहाडी क्षेत्रमा किसानले धानबाली रोप्न थालेका छन् । चैत र बैशाख महिनामा बारीमा छरेको मकैमा युरिया मल राख्ने समय भएको छ ।
मंगला गाउँपालिका–१ कुहुँका किसान इनदेवी मगरले धान रोप्ने र मकै गोड्ने समयमा मल नपाउँदा किसानहरु निराश भएका बताउनुभयो । समयमा युरिया मल छर्न नपाउँदा मकै र धानको उत्पादन घट्ने उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।


म्याग्दीमा बर्खेबालीका लागि दुई सय ७८ मेट्रिक्टन युरिया मलको कोटा निर्धारण भएकोमा हालसम्म एक सय १० मेट्रिक्टन मात्र आपुर्ति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डीङ कम्पनी लिमिटेडले ढुवानीको समस्या देखाएर समयमा मल आयात र वितरणको ब्यवस्था मिलाउन नसकेका बताउनुभयो ।
“इन्धनको मूल्यवृद्धिको कारण देखाएर ढुवानी ब्यवसायीले बिरगञ्जबाट मल नल्याएका कारण म्याग्दीका डिलरहरुले किसानलाई वितरण गर्न पाएका हुन्,” उहाँले भन्नुभयो “जिल्ला प्रशासन कार्यालयको समन्वयमा डिलर, कृषि र खाद्य सामग्री, कृषि विकास कार्यालय र स्थानीय तहका कृषि शाखा प्रमुखहरुको बैठकले आगामी बुधबारभित्र मल आपुर्ति र वितरण सहज बनाउने निर्णय गरेको छ ।”
म्याग्दीको तीन हजार आठ सय ८५ हेक्टरमा धान र नौ हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ ।

