दक्षिण कोरियाबाट मिर्गौला पीडित विलबहादुर थापालाई आठ लाख ३७ हजार वोन सहयोग

Gandaki Ghumau

म्याग्दी,— म्याग्दीको बेनी नगरपालिका–९ तुसारेपानी निवासी मिर्गौला रोगबाट पीडित विलबहादुर थापाको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग जुटाएका छन्।

बेनी नगरपालिका–६ स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत बसन्त बानियाँ र बेनी नगरपालिका–९ का रवी कार्कीको सक्रियतामा सहयोग अभियान सञ्चालन गरी आठ लाख ३७ हजार तीन सय ३३ (८३७,३३३) कोरियन वोन संकलन गरिएको हो।

विलबहादुर थापाको एउटा मिर्गौलाले पूर्ण रूपमा काम गर्न छाडेको र अर्को मिर्गौलासमेत आंशिक रूपमा क्षतिग्रस्त बनेपछि उपचारमा कठिनाइ भइरहेको अवस्थामा आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरिएको थियो। आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका थापाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बानियाँ र कार्कीले आफ्ना साथीभाइ तथा शुभेच्छुकहरूलाई सहयोगका लागि अपिल गरेका थिए।

Shreekrishna

उक्त अपिलपछि दक्षिण कोरिया तथा विभिन्न स्थानमा रहेका नेपालीहरूले स्वेच्छिक रूपमा सहयोग रकम उपलब्ध गराएका थिए। संकलित रकम शनिबार पीडितका आफन्त (बुहारी) सपना थापाको नाममा रहेको कुमारी बैंकको खातामा पठाइएको अभियानकर्ताहरूले जानकारी दिएका छन्।

Gunasthariya Shiksya

सहयोग रकम हस्तान्तरण गर्दै बानियाँ र कार्कीले विलबहादुर थापाको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्। साथै अभियानप्रति विश्वास गर्दै आर्थिक सहयोग प्रदान गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गरेका छन्।

अभियानमार्फत रवी कार्की र बसन्त बानियाँले जनही ५० हजार वोन सहयोग गरेका थिए। त्यस्तै प्रतीक चोखाल, सुनिल नेपाली, पुजन खत्रीलगायतका सहयोगदाताले पनि उल्लेख्य सहयोग प्रदान गरेका छन्। विभिन्न जिल्ला तथा क्षेत्रका ३६ जना सहयोगीबाट कुल ८३७,३३३ वोन संकलन भएको अभियानकर्ताहरूले जनाएका छन्।

अभियानका संयोजकहरूले विदेशमा रहेर पनि मानवीय सेवामा जुट्ने नेपालीहरूको सहयोगी भावनाले कठिन परिस्थितिमा रहेका बिरामीलाई उपचारमा राहत पुगेको बताएका छन्। उनीहरूले आवश्यक परेमा आगामी दिनमा पनि मानवीय सहयोगका यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीयवासीका अनुसार थापा लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित छन्। उपचारका लागि नियमित खर्च आवश्यक पर्ने भएकाले आर्थिक सहयोगले उनको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दक्षिण कोरियामा रहेका म्याग्देली तथा अन्य नेपालीहरूको पहलमा सञ्चालित यस अभियानलाई मानवीय एकता र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ। बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट संकलित रकमले थापाको उपचार प्रक्रियामा केही राहत पुग्ने विश्वास गरिएको छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...