कृषि, पर्यटन, शिक्षा र पूर्वाधारमा केन्द्रित रघुगंगाको नीति तथा कार्यक्रम

Gandaki Ghumau

बेनी, असार ४ – म्याग्दीको रघुगंगा गाउँपालिका को २१औँ गाउँसभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको छ।

“समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी” भन्ने मूल नारासहित प्रस्तुत नीति तथा कार्यक्रमले उत्पादन, रोजगार, सेवा प्रवाह र पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिएको छ। अध्यक्ष भण्डारीले स्थानीय तह निर्वाचनपछिको पाँचौँ वर्षको नीति तथा कार्यक्रमले अधुरा विकास योजनालाई पूर्णता दिनुका साथै स्थानीय नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो।

Shreekrishna

कृषि उत्पादन र आत्मनिर्भरतामा जोड

नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा परिभाषित गरेको छ। प्रत्येक वडामा उत्पादनको पहिचान गरी ‘एक वडा–एक उत्पादन’ नीति कार्यान्वयन गरिने भएको छ। कृषि उत्पादनलाई बजारसँग जोड्न कोल्ड स्टोर सञ्चालनमा सहजीकरण गर्ने, माटो स्वास्थ्य सुधार, कृषि तालिम, अनुदान तथा कृषकको व्यवसायीकरणलाई निरन्तरता दिने नीति लिइएको छ।

जलवायु परिवर्तनका कारण संकटमा परेका रैथाने बालीको संरक्षण, उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखिएको छ। उपभोक्तालाई स्वस्थ खाद्यान्न उपलब्ध गराउने उद्देश्यले वडा नम्बर ८ कुइनेखानीलाई नमुना अर्गानिक गाउँ घोषणा गरी प्राङ्गारिक मल उत्पादनमा अनुदान दिने योजना समावेश गरिएको छ।

पशुपालन क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ। पशुपन्छी रोग नियन्त्रण, औषधि तथा परीक्षण सेवा विस्तार, कृत्रिम गर्भाधान अभियान, रैथाने पशुपन्छी संरक्षण र उच्च हिमाली भेगका पशुगोठ सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ। उत्कृष्ट कृषक सम्मान र कृषि बीमासम्बन्धी कार्यक्रम गाउँगाउँमा विस्तार गरिने नीति लिइएको छ।

रोजगार, उद्यमशीलता र सहकारी सुदृढीकरण

स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न राष्ट्रिय रोजगार कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ। उद्यमशीलता विकास, सीपमूलक तालिम, पुनर्ताजगी तालिम तथा प्रविधि हस्तान्तरणमार्फत युवालाई उत्पादन र उद्यमसँग जोड्ने लक्ष्य राखिएको छ।

सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउन नियमनलाई प्रभावकारी बनाइने, समान उद्देश्य भएका सहकारीलाई एकीकरण गर्न प्रोत्साहन गरिने तथा निष्क्रिय सहकारीको खारेजी र परिसमापन प्रक्रिया अघि बढाइने नीति समावेश गरिएको छ।

पर्यटन प्रवर्द्धनलाई नयाँ गति

रघुगंगाको प्राकृतिक र सांस्कृतिक सम्पदालाई आर्थिक विकाससँग जोड्ने गरी पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। प्रमुख पर्यटकीय गन्तव्यमा संकेतचिन्ह स्थापना, पदमार्ग निर्माण तथा विस्तार, होमस्टे प्रवर्द्धन, पर्यटन प्रवर्द्धन भेला, डकुमेन्ट्री निर्माण तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई जोड दिइएको छ।

स्थानीय कला, भाषा, संस्कृति र पुरातात्विक सम्पदाको अभिलेखीकरण गरी संरक्षण र प्रवर्द्धन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

शिक्षा सुधारको महत्वाकांक्षी योजना

शिक्षा क्षेत्रलाई नीति तथा कार्यक्रमको प्रमुख प्राथमिकतामा राखिएको छ। स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै कक्षा ४ र ५ का लागि नयाँ स्थानीय पाठ्यपुस्तक तयार गरी लागू गरिने भएको छ।

गुणस्तरीय शिक्षाका लागि स्वास्थ्य, पोषण, छात्रवृत्ति, आवासीय सुविधा, कम्प्युटर तथा डिजिटल सामग्रीको प्रयोग, खेलकुद सामग्री र सुरक्षित सिकाइ वातावरणमा लगानी गरिनेछ। विद्यार्थीको प्रतिभा पहिचान, उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा कार्यक्रम सञ्चालन गरिने भएको छ।

विद्यालयको भौतिक संरचना सुधार, विद्युतीय हाजिरी प्रणाली, शैक्षिक क्यालेन्डर कार्यान्वयन तथा नियमित अनुगमनलाई विशेष महत्व दिइएको छ।

Gunasthariya Shiksya

युवा, खेलकुद र स्वास्थ्यमा विशेष ध्यान

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिइने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका खेलाडीलाई सम्मान गरिने भएको छ। खेलकुद पूर्वाधार विकास र युवा परिचालनलाई समेत प्राथमिकता दिइएको छ।

स्वास्थ्यतर्फ निःशुल्क औषधि वितरण, महिलाको प्रजनन स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य तथा नसर्ने रोगको स्क्रिनिङ, सामुदायिक स्वास्थ्यकर्मीको क्षमता विकास, नागरिक आरोग्य कार्यक्रम र शून्य होम डेलिभरी अभियान सञ्चालन गरिने भएको छ।

खोप, पोषण, ज्येष्ठ नागरिक कार्यक्रम, जोखिमयुक्त गर्भवती महिलाको हेलिकोप्टर उद्धार तथा स्वास्थ्य संस्थाको भौतिक र संस्थागत सुधारलाई निरन्तरता दिइने नीति समेटिएको छ।

सामाजिक सुरक्षा र समावेशी विकास

सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ प्रभावकारी बनाइने भएको छ। लाभग्राही पहिचान र नवीकरण प्रक्रियामा प्रविधिको प्रयोग गरिनेछ। छोरी पेवा बचत कार्यक्रमलाई निरन्तरता दिइने, महिला सशक्तीकरण तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिने र ज्येष्ठ नागरिकको ज्ञान तथा अनुभवलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने नीति लिइएको छ।

दलित, अपाङ्गता भएका व्यक्ति, पिछडिएका वर्ग तथा बालबालिकालाई लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ।

पूर्वाधार विकासमा उच्च प्राथमिकता

अध्यक्ष भण्डारीले अधुरा योजनालाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको छ। गाउँपालिकाको केन्द्रीय प्रशासकीय भवन र झिँ सामुदायिक विकास केन्द्र आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वडा कार्यालय भवन निर्माण, सडक बत्ती, सीसीटीभी जडान, हरियाली प्रवर्द्धन तथा सार्वजनिक सडकका लागि प्रदान गरिएको जग्गाको लगत कट्टा गर्ने व्यवस्था गरिने भएको छ।

अवैध ढुंगा, गिट्टी र बालुवा उत्खनन नियन्त्रण, गाउँ संरक्षण तथा ढल व्यवस्थापन, पक्की पुल र झोलुङ्गे पुल निर्माण, ५० भन्दा बढी सडकको स्तरोन्नति तथा मर्मत र २० भन्दा बढी पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ।

सार्वजनिक पूर्वाधारलाई अपाङ्गमैत्री र बालमैत्री बनाउने तथा खानेपानी गुणस्तर परीक्षण अभियान सञ्चालन गर्ने नीति पनि समावेश छ।

सुशासन, डिजिटल सेवा र एआई प्रयोग

गाउँपालिकाले आगामी वर्ष सेवा प्रवाहलाई थप डिजिटल बनाउने घोषणा गरेको छ। विद्युतीय हाजिरी, टोकन प्रणाली, वेबसाइट तथा डिजिटल माध्यमको प्रयोग विस्तार गरिनेछ। कर्मचारी क्षमता विकास, संगठन संरचना परिमार्जन, कार्यसम्पादन आधारित प्रोत्साहन भत्ता र नियमित बजार अनुगमनलाई प्राथमिकता दिइएको छ।

विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका उदीयमान डिजिटल प्रविधिलाई सेवा प्रवाहमा समावेश गरी प्रविधिमैत्री स्थानीय सरकार बनाउने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

विपद् व्यवस्थापन र न्यायिक सेवा सुदृढ

विपद् जोखिम न्यूनीकरण, उद्धार र राहतलाई प्रभावकारी बनाउन सबै वडामा हेलिप्याड निर्माण, जोखिम क्षेत्रको नक्साङ्कन, विपद् कोष सुदृढीकरण तथा अन्तरपालिका समन्वयलाई जोड दिइएको छ।

स्थानीय न्यायिक प्रणालीलाई नागरिकमैत्री बनाउन न्यायिक इजलास कक्ष निर्माण, मेलमिलापकर्ताको क्षमता विकास तथा मानव अधिकार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने भएका छन्।

अध्यक्ष भण्डारीले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सरकारी निकाय, राजनीतिक दल, निजी क्षेत्र, सहकारी, सञ्चारकर्मी र नागरिक समाजको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समृद्ध रघुगंगा निर्माणमा सबैलाई साथ दिन आह्वान गर्नुभएको छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...