उत्पादन, रोजगारी र पूर्वाधारमा जोड दिँदै ताराखोलाको नीति तथा कार्यक्रम सार्वजनिक

Gandaki Ghumau

ताराखोला, २ असार – बागलुङको ताराखोला गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उत्पादनमुखी अर्थतन्त्र, स्थानीय रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा गुणस्तरीय शिक्षा–स्वास्थ्यलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाको २०औँ गाउँसभामा अध्यक्ष धनबहादुर विकले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा “श्रम, सहकारी, पर्यटन, कृषि, उद्योग र पूर्वाधारः गुणस्तरीय स्वास्थ्य र शिक्षा, एक घर एक रोजगार” लाई मूल नाराका रूपमा अघि सारिएको छ। नीति तथा कार्यक्रमले उत्पादन र रोजगारलाई विकासको केन्द्रबिन्दु बनाउँदै आत्मनिर्भर, समावेशी र समृद्ध ताराखोला निर्माण गर्ने दीर्घकालीन सोच अघि सारेको छ।

Shreekrishna

गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन, सहकारी र स्थानीय उद्योगमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। प्रत्येक घरपरिवारलाई उत्पादन र रोजगारीसँग जोड्ने, कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउने, युवालाई गाउँमै उद्यम र रोजगारीमा आबद्ध गराउने तथा महिला, दलित, जनजाति र विपन्न वर्गको सशक्तीकरण गर्ने उद्देश्य नीति तथा कार्यक्रममा समेटिएको छ।

कृषि र पशुपालनलाई प्राथमिकता

नीति तथा कार्यक्रमअनुसार आगामी वर्षदेखि “एक वडा एक उत्पादन” कार्यक्रम लागू गरिनेछ। आलु, फापर, जौ, उवा, रातो धान, मकै, कोदो, सिमी, ओखर, अलैँची, चिया, स्याउ, किवी लगायतका नगदे तथा खाद्यान्न बालीको व्यवसायिक खेती विस्तार गरिने भएको छ।

बसाइँसराइका कारण बाँझो बनेका जग्गालाई ‘भूमि बैंक’ मार्फत एकीकृत गरी सामूहिक अर्गानिक खेतीमा उपयोग गरिनेछ। कृषि यान्त्रिकीकरण, कृषि बीमा, बजार सूचना प्रणाली, उत्कृष्ट कृषक सम्मान तथा उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।

पशुपालन क्षेत्रतर्फ बाख्रा, भेडा, बंगुर, गाई, भैँसी र कुखुरापालनलाई व्यवसायिक बनाइनेछ। पशु स्वास्थ्य शिविर, नश्ल सुधार, खोप कार्यक्रम, घाँस खेती विस्तार, पशु बीमा तथा दुग्ध संकलन केन्द्र स्थापना गरिने भएको छ। गाउँपालिकाले “एक गाउँ एक पशु पकेट क्षेत्र” कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।

‘एक घर एक रोजगार’ अभियान

स्थानीय रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिँदै गाउँपालिकाले “श्रम नै सम्मान” अभियान र “एक घर एक रोजगार” कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ। प्रत्येक परिवारको आयआर्जन अवस्था अध्ययन गरी रोजगार योजनामा आबद्ध गरिने तथा कृषि, पर्यटन, घरेलु उद्योग र सेवा क्षेत्रमा रोजगारी सिर्जना गरिने नीति लिइएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा जोड्ने, श्रम बैंकलाई व्यवस्थित बनाउने, रोजगार सूचना केन्द्र सञ्चालन गर्ने तथा सीपमूलक तालिममार्फत स्वरोजगारका अवसर विस्तार गर्ने कार्यक्रम समेटिएको छ।

पर्यटन विकासमा विशेष जोड

ताराखोलाको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको उपयोग गर्दै ग्रामीण पर्यटन प्रवर्द्धन गरिने भएको छ। होमस्टे सञ्चालनमा सहयोग, स्थानीय संस्कृति र खानाको संरक्षण, पर्यटन गुरुयोजना निर्माण तथा पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।

पदमार्ग, विश्रामस्थल, दृश्यावलोकन केन्द्र तथा धार्मिक र ऐतिहासिक स्थलहरूको संरक्षण र विकास गरिने नीति छ। शहीद पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा “ताराखोला पर्यटन महोत्सव” आयोजना गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ।

शिक्षा सुधार र प्रविधिमैत्री शिक्षामा जोड

शिक्षा क्षेत्रतर्फ विद्यालयको सिकाइ उपलब्धि सुधार, अंग्रेजी, विज्ञान र गणित विषयमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। विद्यालयमा डिजिटल तथा प्रविधिमैत्री शिक्षण प्रणाली लागू गरिने र एकीकृत विद्यालय सञ्चालनका लागि विद्यालय बस व्यवस्थापन गरिने नीति छ।

Gunasthariya Shiksya

कृषि, पशुपालन, कम्प्युटर तथा उद्यमशीलतासम्बन्धी प्राविधिक शिक्षा विस्तार गरिनेछ। विद्यालय तहमा सीपमूलक शिक्षा लागू गरिनुका साथै कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि समावेश गरिएको छ।

दलित, जनजाति, अपाङ्गता भएका तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने र विद्यालय छाड्ने दर न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने भएका छन्।

स्वास्थ्य सेवामा पहुँच विस्तार

गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने नीति लिएको छ। स्वास्थ्य चौकीको स्तरोन्नति, निःशुल्क औषधि वितरण, सुरक्षित मातृत्व कार्यक्रम तथा नियमित स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

पूर्ण अशक्त, मेरुदण्डमा चोटपटक लागेका तथा दीर्घरोगी बिरामीको हेरचाह गर्ने परिवारलाई आर्थिक तथा प्राविधिक सहयोग गरिनेछ। टेलिमेडिसिन सेवा सञ्चालन, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

पूर्वाधार विकासमा निरन्तरता

सडक, पुल, ऊर्जा, सिँचाइ तथा भवन निर्माणलाई गाउँपालिकाले आगामी वर्ष पनि प्राथमिकता दिएको छ। मुख्य सडकहरूको स्तरोन्नति, कालोपत्रे र ढलान कार्य अघि बढाइने तथा सबै वडालाई पालिका केन्द्र, विद्यालय, स्वास्थ्य संस्था र बजारसँग जोड्ने सडक निर्माण गरिने नीति छ।

आवश्यक स्थानमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माण, रोड बायो–इन्जिनियरिङको प्रयोग तथा सडक मर्मतलाई निरन्तरता दिइने भएको छ। विद्युत् पहुँच विस्तार, सौर्य ऊर्जा प्रवर्द्धन तथा विद्युतीकरण नपुगेका बस्तीमा सोलार सेट वितरण गर्ने योजना समावेश गरिएको छ।

सिँचाइतर्फ कुलो मर्मत, लिफ्ट सिँचाइ, पोखरी निर्माण र वर्षा पानी संकलन कार्यक्रम सञ्चालन गरिने भएको छ।

वन, वातावरण र विपद् व्यवस्थापन

वन तथा जैविक विविधताको संरक्षण, वृक्षारोपण, वन पुनःस्थापना तथा फोहोर व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने नीति छ। बाढी, पहिरो, भूक्षय तथा अन्य प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी, उद्धार र राहत व्यवस्थालाई सुदृढ बनाइने भएको छ।

प्रत्येक वडामा विपद् प्रतिकार्य टोली गठन गरी तालिम प्रदान गरिने तथा विपद् कोषलाई थप सुदृढ बनाइने कार्यक्रम समेटिएको छ।

सुशासन र डिजिटल सेवा प्रवाह

गाउँपालिकाले सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र नागरिकमैत्री बनाउने नीति लिएको छ। ई–गभर्नेन्स प्रणाली विस्तार, अनलाइन सेवा, डिजिटल अभिलेख तथा कागजरहित प्रशासनलाई प्रोत्साहन गरिने भएको छ।

नागरिक गुनासो व्यवस्थापन प्रणाली, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा सेवाग्राही सन्तुष्टि सर्वेक्षणमार्फत सुशासन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

अध्यक्ष विकले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, रोजगार, सामाजिक न्याय, पूर्वाधार विकास र सुशासनलाई एकीकृत रूपमा अघि बढाउँदै समृद्ध ताराखोला निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ। गाउँपालिकाले यसको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, सञ्चार माध्यम र आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...