
रुम ः म्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिलाले जंगलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रसोधन गरि विभिन्न सामग्री तयार पारेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।
रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मनकुमारी पुनले १२ जना महिला उद्यमीहरुले अल्लोबाट कपडा बनाउने गरेका जानकारी दिनुभयो । “एक जनाले वार्षिक रुपमा ४५ देखि डेढ सय मिटरसम्म अल्लोबाट कपडा बनाउछौ,” उहाँले भन्नुभयो “गाउँबाटै प्रतिमिटर रु. पाँच सय देखि सात सय पचासका दरले अल्लो कपडा बिक्री हुन्छ ।”
हिउँदयाममा लेकाली क्षेत्रको जंगलमा अल्लो पुवा संकलन, प्रसोधन गरि धागो बनाउने र घरायसी कामबाट बचेको फुर्सदको समयमा धागो बनाउने गरेको उद्यमी हिमदेवी घर्तीले बताउनुभयो । चाल्से सिस्नोको डाठको बाहिरी भागबाट पुवा निकाल्ने गरिन्छ । पुवालाई तातोपानीमा पकाएर तयार पारिएको रेसादार धागोलाई तानको सहायताले कपडा बुन्ने गरिन्छ ।
“वातावरणमैत्री, बलियो, टिकाउ, आकर्षक र मौलिक सिपमा आधारित भएकाले अल्लो धागो र कपडाको खपतसँगै माग बढेको छ,” घर्तीले भन्नुभयो “खेतीकिसानी र घरायसी कामबाट बचेको समयको सदुपयोगसँगै भएको आम्दानीले घरखर्च चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ ।”

उद्यमीहरुले कपडाको विभिन्न सामग्री बनाएर बिबिधिकरण गर्न थालेका छन् । ग्राहकको माग अनुसार कोट, झोला, सपिङ ब्याग, सल, पछ्यौरा, ‘पर्स’ बनाएर बिक्री गर्दा थप आम्दानी हुने उद्यमी गौमाया पुनले बताउनुभयो । “यसअघि परम्रागत शैली र डिजाइनमा कुर्ता सुरुवाल मात्रै सिलाउने गरेका थियौ,” उहाँले भन्नुभयो “पछिल्लो समय नयाँ नयाँ डिजाइनमा ग्राहकको माग अनुसारका कपडा सिलाउन थालेपछि थप आम्दानी भएको छ ।”

अल्लोको एउटा कोटलाई रु. पाँच हजार मूल्य पर्छ । रुम घुम्न आउने पर्यटक र पाहुनाहरुले कोशेलीको रुपमा अल्लोका कपडा किनेर लैजाने गरेका छन् । बेनी, पोखरा, बागलुङ, कुश्माका मेला महोत्सवमा प्रर्दशनीमा लगेर सामानको प्रर्वद्धन गरिएको छ । छुट्टी र चाडपर्व मनाउन जन्मथलो आएका प्रवासीहरु पनि अल्लोका कपडाका ग्राहक हुन् ।
मालिका गाउँपालिकाको उद्यम विकास सहजकर्ता होमदेवी खत्रीले रुमका उद्यमीहरुलाई अल्लोको कपडाबाट सामग्री बनाउन स्तरोन्नति सम्बन्धी तालिमका साथै तान सहयोग गरिएको बताउनुभयो । गरिवी निवारण कोष, गरिवी निवारणका लागि उद्यम विकास कार्यक्रम लगायतका संघ संस्था तथा निकायले तालिम, प्रबिधी र पूर्वाधार निर्माणमा सहयोग गरेका छन् ।
सामुहिक रुपमा कपडा बुन्ने उद्यमीहरुका लागि साझा सुविधा केन्द्रको भवन पनि निर्माण गरेको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार स्थानीय स्रोतसाधनमा आधारित उद्यमले महिलाको आर्थिक सशक्तीकरणसँगै गाउँमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।
पहिले जंगलमा खेर जाने अल्लो आज रुमका महिलाको जीवन परिवर्तन गर्ने माध्यम बनेको छ । परिश्रम, सीप र सामूहिक प्रयासले उनीहरूले गाउँमै आयआर्जनको दिगो आधार तयार गरेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन र बजार विस्तार गर्न सके अल्लो उद्यम ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।

