
बेनी, ः उर्जा, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मंगला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले चालु आर्थिक वर्षको सालबसाली तीन वटै योजनाहरु निर्धारित समय अगावै सम्पन्न भएका जानकारी दिनुभयो ।


अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर स्थित कालीगण्डकी नदी किनारमा कम्पोजिट प्रबिधीको पर्खाल निर्माण भएको छ । रुप्से बिल्डर्स प्रा.ली.ले रु. २७ लाख ९५ हजारमा ठेक्का पाएको यस योजना मार्फत २६ मिटर पक्की पर्खाल निर्माण भएको छ ।
एसके कन्ट्रक्सनले रु. १४ लाख ९९ हजारमा ठेक्का पाएको बेनी नगरपालिका–४ सिंगा तातोपानी बस्ति संरक्षण योजना मार्फत माथिल्लो तातोपानी बजार स्थित खेलमैदान क्षेत्रमा तटबन्ध भएको छ ।
हरिवर तिवारी निर्माण सेवाले रु. २६ लाख ८० हजारमा ठेक्का पाएको मंगला गाउँपालिका–२ सिममा म्याग्दी नदी नियन्त्रण योजना पनि सम्पन्न भएको छ । उक्त योजना मार्फत सिम स्थित म्याग्दी नदीको किनारमा ४६ मिटर दुरीमा ग्यावीयन पर्खाल निर्माण भएको छ ।
सिमका बासिन्दा धु्रब केसीले तटबन्ध गरेपछि कटान रोकथाम भई बस्ति र खेतीयोग्य जमिन संरक्षण भएको बताउनुभयो । तटीय क्षेत्रका बस्ति तथा खेतीयोग्य जमिनलाई कटान र बाढीबाट जोगाउन योजनालाई निरन्तरता दिनुपर्ने केसीले बताउनुभयो ।

