
बेनी, । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महाविर पुन विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्रीमा नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा पुन र गृहमन्त्रीमा नियुक्त सुदन गुरुङलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।
राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मन्त्री पुनले पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण तयार गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

नयाँ मन्त्रालय भएकाले यसको संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै उहाँले शून्यबाट काम अगाडि बढाउने बताउनुभयो । उहाँले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

“यो नयाँ मन्त्रालय भएकाले यसको ओएनएम गर्नै बाँकी छ। अब ओएनएम गरेर के कसरी अगाडि बढ्ने भन्ने कुरामा जिरो (शून्य) बाट अगाडि बढ्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो “हामीले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि रातदिन नभनी काम गर्ने हो । म नागरिकलाई पनि के भन्न चाहन्छु भने म यो पदमा धेरै दिन बस्दिनँ । म तीन वर्ष मन्त्री भएर काम गर्ने हो, त्यसपछि नयाँ युवा भाइहरूलाई नेतृत्व हस्तान्तरण गर्ने हो ।”
मन्त्री पुनले आफू तीन वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत रूपमा बलियो आधार दिएर नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने आफ्नो योजना रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद महावीर पुन पहिलोपटक देशको नवप्रवर्तन मन्त्रालयको नेतृत्व गर्न लाग्नुभएको हो ।
अध्ययन, अनुसन्धान र प्रविधिको क्षेत्रमा लामो समयदेखि क्रियाशील पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री हुनुभएको थियो । मन्त्रिबाट राजिनामा दिएर उहाँ उमेद्वार हुन जन्मथलो म्याग्दीमा आउनुभएको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सुधन गुरूङ पुनः गृह मन्त्रालयको कमान्ड सम्हाल्न आइपुगेका छन ।
यसअघि गत चैत १३ गते पहिलोपटक गृहमन्त्रीको रूपमा कार्यभार सम्हालेका गुरूङले सेयर लगानी र स्वार्थको बाझिने विषयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि नियुक्तिको २६ दिनमै गत वैशाख (गते) पदबाट राजीनामा दिएका थिए । छानबिनबाट क्लिन चिट मिलेपछि प्रधानमन्त्री शाहले गुरूङलाइ पुनः गृहकै जिम्मेवारीमा फर्काउनु भएको थियो ।

