
बेनी, । ११ जुन अर्थात् जेठ २८ गतेबाट सुरु हुने फिफा वल्डकपको पूर्वसन्ध्यामा मंगलबार बेनीमा वल्डकप वलिम्पियाड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
म्याग्दीका विभिन्न विद्यालयका १५ समूह सहभागी उक्त प्रतियोगितामा बेनीको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । माउण्ट एभरेष्ट आवासीय माविको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा बेनीकै लिटिल गार्डेन माध्यमिक विद्यालयले द्धितीय स्थान प्राप्त गरेको आयोजक विद्यालयका कार्यक्रम संयोजक सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

शिक्षक थापाले दिएको जानकारी अनुसार कार्यक्रमको उद्घाटन बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा प्रथम र द्धितीय हुने समूहले क्रमशः नगद रु चार हजार पाँचसय र तीन हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरी आगामी असार १ गतेदेखि नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गेको आयोजना र माउण्ट एभरेष्ट आवासीय मावि बेनीको समन्वयमा कक्षा ८ देखि १० सम्मका विद्यार्र्थीहरुका लागि एनसिसि जुनियर डिभिजन क्याडेट तालिम आयोजना गरिएको विद्यालयका प्रन्सिपल राजु केसीले जानकारी दिनुभयो ।
प्रिन्सिपल केसीका अनुसार राष्ट्रिय सेवा दलको वार्षिक तालिम योजना अनुसार आयोजना हुने उक्त तालिममा माउन्ट एभरेष्ट आवासीय मावि छनोटमा परेको हो । तालिमका लागि सेनाको गुरु गोरख गुल्म अर्थुङ्गेले बुधबार विद्यार्थी छनोट अभिमुखिकरण तालिम आयोजना गरेको छ ।
अनुशासन,नेतृत्व तथा क्षमता विकास,सामाजिक तथा सामुदायिक काममा अग्रसरता आदिका लागि तालिम निकै उपयोगी हुने प्रिन्सिपल केसीको भनाइ रहेको छ ।

