
म्याग्दी, ः म्याग्दीको म्याग्दीको मंगला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दूध–दही किन्नका लागि दैनिकजसो ग्राहकको भिड लाग्ने गर्छ ।
बेनी–जोमसोम सडकसँगै जोडिएको पौडेलको घरमा बस, जिप, ट्रक, मोटरसाइकल रोकिएर यात्रुहरू दही र दूध किनिरहेका हुन्छन् । धेरैलाई थाहा नहुन सक्छ, यही दही बेच्ने पौडेलले दुई दशकअघि वैदेशिक रोजगारीको सपना देख्दा रु. तीन लाख गुमाउनुपरेको थियो ।
पौडेलले विदेश जाने नाममा लागेको ऋण तिर्नुभएन मात्र चार सन्तानलाई स्नातक तहसम्म पढाएका छन् र परिवारको जीवनस्तर समेत उकास्नुभएको छ । ५१ वर्षीय पौडेलको कथा संघर्ष, धैर्य र स्वदेशमै सम्भावना खोज्ने प्रेरणादायी उदाहरण बनेको छ ।

“वि.सं. २०६३ मा अफगानिस्तान जान दलाललाई ऋण खोजेर तीन लाख रुपैयाँ दिएको थिएँ,” पौडेल सम्झिनुहुन्छ, “पैसा फस्यो, विदेश जाने सपना पनि टुट्यो । त्यसपछि वैदेशिक रोजगारीको सोच त्यागेर भैसीपालन र तरकारी खेती सुरु गरेँ ।”
त्यतिबेला ऋणको भारी थियो । परिवारको खर्च धान्नुपर्ने जिम्मेवारी थियो । तर उहाँले हार मान्नुभएन् । दुईवटा भैसीबाट सुरु भएको यात्राले आज एउटा व्यवस्थित फार्मको रूप लिएको छ । हाल उहाँको गोठमा आठवटा भैसी छन् । परिवारका दुई सदस्यसँगै एक जनालाई नियमित रोजगारी दिनुभएको छ ।
वि.सं. २०७३ मा दर्ता भएको ‘पौडेल भैसीपालन फर्म’ अहिले म्याग्दी जिल्लाकै सफल उद्यमको रुपमा चिनिन थालेको छ । दुई रोपनी क्षेत्रफलमा तरकारी खेती पनि गर्नुभएको छ । भैसी र तरकारी खेती एकअर्काका पूरक बनेका छन् । गोठबाट निस्कने मल बारीमा पुग्छ, बारीको उत्पादनले आम्दानी थपेको छ । दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये करिब ४० लिटर दूधबाट दही बनाइन्छ । बाँकी दूध पुराना ग्राहकका लागि छुट्याइन्छ ।

“दिउँसो १२–१ बजेसम्म दही सकिन्छ,” पौडेल भन्नुहुन्छ, “माग धेरै छ, धान्न गाह्रो भइरहेको छ ।” उहाँको दहीको लोकप्रियताको रहस्य शुद्धता र परम्परागत स्वाद हो । काठको ठेकीमा जमाइएको दहीले उपभोक्ताको मन जितेको छा। बजारमा पाइने कृत्रिम स्वादको दहीभन्दा फरक भएकाले एकपटक चाख्ने ग्राहक फेरि फर्केर आउने गरेका छन् ।
मंगला गाउँपालिका–५ गहतेका खिमलाल आचार्यका अनुसार पौडेलको फार्म अहिले यस क्षेत्रको ‘ब्रान्ड’ बनिसकेको छ । “यहाँ कुनै ठूलो विज्ञापन गरिएको छैन,” आचार्य भन्नुहुन्छ, “ग्राहकको मुखबाट मुखमा पुगेको प्रशंसाले नै व्यवसाय चलिरहेको छ।”
स्थानीय फडिन्द्र शर्माको अनुभव पनि उस्तै छ । “एकपटक यहाँको दूध–दही चाख्नुभयो भने अर्को पटक गाडी आफैं रोकिन्छ,” उहाँ भन्नुहुन्छ, “शुद्ध दूधबाट बनेको दहीको स्वाद यात्रुले बिर्सन सक्दैनन् ।”
पौडेलका ग्राहकहरू नियमित व्यक्ति होइनन्, तर ग्राहकको क्रम भने कहिल्यै रोकिएको छैन् । बेनी–दरबाङ–मुना–ढोरपाटन सडकमा चल्ने यात्रुले उहाँको व्यवसायलाई निरन्तर बजार दिएका छन् । पहिले दूध बेच्न घर–घर पुग्नुपर्ने अवस्था थियो, अहिले ग्राहक आफैं गोठसम्म पुग्ने गरेका छन् ।
दूध, दही र तरकारी बिक्रीबाट मासिक रु. ५० हजारभन्दा बढी बचत हुने पौडेल बताउनुहुन्छ । यही आम्दानीले उहाँले ऋण तिरे, घरव्यवहार चलाए र छोराछोरीलाई उच्च शिक्षा दिलाउनुभएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा उहाँले परम्परागत गोठलाई सुधार गर्नुभएको छ । गाउँपालिकाका प्राविधिकहरूले पनि पशु बिरामी पर्दा समयमै सहयोग गर्दै आएका छन् ।
पशुमा रोग लाग्ने जोखिम र बाँदरले तरकारी खेतीमा पु¥याउने क्षति उहाँको मुख्य चिन्ता हो। त्यसका बाबजुद उनी व्यवसायलाई अझ व्यवस्थित बनाउने योजनामा हुनुहुन्छ । विदेश जाने सपना चकनाचुर भएपछि धेरै मानिस निराश हुन सक्छन् ।
तर थमप्रसाद पौडेलले त्यही असफलतालाई अवसरमा बदलिदिए । वैदेशिक रोजगारीका लागि लिएको ऋण दूध–दही बेचेर तिरे र स्वदेशमै सफलताको नयाँ बाटो बनाउनुभयो । “सपना विदेशमै खोज्नुपर्छ भन्ने छैन,” उहाँले भन्नुभयो “मेहनत र धैर्य भए आफ्नै गाउँको गोठबाट पनि सफलता मिल्छ ।”

