
बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटका शिक्षक तुलप्रसाद पुन (नयन बाबु)को लय र शब्द संकलनमा गाउँको इतिहास, संस्कृति र प्राकृतिक सम्पदालाई समेटेर लोकगित र भिडियो निर्माण गरिएको छ ।
सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय अमरज्योती मावि डाडागाउँका शिक्षक पुनले गाउँघर, डाँडाकाँडा, परम्परा र स्थानीय जीवनशैलीलाई दृश्य माध्यममार्फत भावी पुस्तासम्म पु¥याउने उद्देश्यले तयार पार्नुभएको शिरफुले भाका ‘रेलिमै’ गितको भिडियो सामग्री सार्वजनिक भएको छ ।
गाउँको मौलिक पहिचान र इतिहासलाई भिडियोमा अभिलेखीकरण गरी आगामी पुस्ताले पनि आफ्नो थातथलोप्रति गर्व गर्न सकून् भन्ने उद्देश्यले गित र म्युजिक भिडियो तयार पारिएको पुनले बताउनुभयो ।

भिडियोमा तामाखानी रहेको ओखरबोट, च्युरीबोट, छाप, सोलेडाडा, फुलवारी, महभिर क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय जनजीवन तथा मौलिक ‘शिरफुले भाका रेलिमै’ गीतलाई समेटिएको छ । स्थानीय कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको भिडियोमा गाउँका कलाकार र बाद्यवादकहरूको समेत सहभागिता रहेको छ ।

ओखरबोटमै जन्मिएर ख्याती प्राप्त लोकगायक र बाद्यबाधक हेमन्त कान्छाको स्वर रहेको भिडियो उहाँकै युट्युव च्यानलबाट सार्वजनिक भएको छ । हेमन्त कान्छा रसाइली, कृष्ण परियार, गीता पाइजा, सुमन थापा र अमृता लामिछानेको स्वर रहेको छ । गितमा पविता पुन, नवीन मगर र सुष्मा बुढाथोकीको अभिनय रहेको छ ।
भिडियो निर्माण कार्यमा क्यामरामेन प्रकाश खड्का, भिडियो सम्पादक प्रविण भट्ट तथा अन्य सहयोगीहरूको महत्वपूर्ण भूमिका रहेको निर्माण टोलीले जनाएको छ । साथै स्थानीय बासिन्दा, इष्टमित्र तथा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र हौसलाले अभियान सफल बनाउन मद्दत पुगेको उल्लेख गरिएको छ ।
स्थानीय संस्कृतिको संरक्षण र प्रवद्र्धनमा यस्ता प्रयासले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै निर्माण टोलीले आगामी दिनमा थप सामग्रीमार्फत गाउँको इतिहास, संस्कृति र पहिचानलाई उजागर गर्ने जनाएको छ ।
स्थानीय मौलिक गीत, संस्कृति र प्राकृतिक सम्पदालाई अभिलेखीकरण गर्ने यो प्रयासलाई ओखरबोटको सांस्कृतिक इतिहास जोगाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

