कृषि उद्यमबाट आत्मनिर्भरता र स्वरोजगारको यात्रामा सुजन चोखाल (भिडियो सहित)

Gandaki Ghumau

बेनी, वैदेशिक रोजगारी र शहरकेन्द्रित बसाइँसराइका कारण गाउँका धेरै खेतबारी बाँझिने क्रम बढिरहेका बेला म्याग्दीको बेनी नगरपालिका–९ गिठिनीका युवा कृषक सुजन चोखालले भने उजाड पाखोबारीलाई हराभरा बनाउने अभियान थालेका छन्। झाडी र वनमाराले ढाकिएको बाँझो जमिन फाँडेर फलफूल बगैचा विस्तार गर्दै उनले कृषि क्षेत्रमा सम्भावनाको नयाँ उदाहरण प्रस्तुत गरेका छन्।

रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले यस वर्ष मात्रै ३० रोपनी बाँझो पाखोबारीमा फलफूल खेती सुरु गर्नुभएको छ। बालिविज्ञान विषयको अध्ययन पूरा गरेपछि वि.सं. २०७५ मा स्थापना गरेको फार्मलाई विस्तार गर्दै उहाँले सुन्तला, कागती, टिमुर, ओखर, किबी र अकबरे खुर्सानी खेतीतर्फ लगानी बढाउनुभएको हो।

“पहिले नर्सरीमा फलफूलका बिरुवा उत्पादनमा केन्द्रित थिएँ,” चोखालले भन्नुभयो, “यसपालि उत्तिस र वनमाराले ढाकिएको दुई ठाउँको बाँझो पाखोबारी सफा गरेर फलफूल बगैचा स्थापना गरेको छु।”

Shreekrishna

उहाँले पाँच सय सुन्तला, एक सय कागती, दुई सय टिमुर, ४० वटा ओखर र ३० बोट किबी रोप्नुभएको छ। सात रोपनी क्षेत्रफलमा ‘मल्चिङ’ प्रविधिबाट अकबरे खुर्सानी खेती गरिएको छ। नर्सरीमा हाल पाँच हजार सुन्तला र सात हजार कागतीका बिरुवा तयार अवस्थामा छन्। त्यसैगरी तीनपाते सुन्तलाका सात हजार तथा टिमुर र अम्बाका सयौँ बिरुवा बिक्रीका लागि तयार छन्।

चोखालका अनुसार नर्सरीका सबै बिरुवा बिक्री भएमा मात्रै करिब १५ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ। फलफूल खेतीसँगै उहाँले पाँच सय स्थानीय जातका कुखुरा र दुई सय ५० कालिज पनि पाल्नुभएको छ। फार्ममा माछापालन र मौरीपालनसमेत गरिएको छ भने १६ रोपनी क्षेत्रफलमा अदुवा खेती गरिएको छ। बेनी नगरपालिका–२ बगरफाँटमा केराखेतीको पनि सुरुआत गरिएको छ।

कृषिलाई व्यवसायिक बनाउने यात्रामा चोखाल एक्लै हुनुहुन्न। उहाँका भाइ पशु प्राविधिक राम चोखाल र इन्जिनियरिङ अध्ययनरत कृष्ण चोखालले पनि फार्म सञ्चालनमा साथ दिएका छन्। दाजुभाइको सहकार्यले कृषि उद्यमलाई थप व्यवस्थित बनाएको छ।

Gunasthariya Shiksya

रघुगंगा गाउँपालिका–२ स्थित मुक्तिधाम माध्यमिक विद्यालयमा कृषि प्राविधिक विषयका सहायक प्रशिक्षकसमेत रहेका चोखाल विद्यालयको जिम्मेवारी पूरा गरेपछि बिहान, साँझ र बिदाको समयमा फार्ममा सक्रिय रहनुहुन्छ। समयको सदुपयोग गर्दै कृषि र पेशालाई सँगसँगै अघि बढाउने उहाँको प्रयास धेरै युवाका लागि प्रेरणादायी बनेको छ।

वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म कारोबार हुने फार्मले घरपरिवारलाई मात्रै होइन, स्थानीय स्तरमा रोजगारी सिर्जनामा पनि योगदान पुर्‍याएको छ। सिजनका बेला ७० देखि ८० जनासम्मले काम पाउने गरेका छन्। कृषि विकास कार्यालयको सहयोगमा नर्सरीका लागि प्लास्टिक घर निर्माण तथा अदुवा खेती विस्तार गर्न सहज भएको उहाँले बताउनुभयो।

गाउँमा बाँझिँदै गएका खेतबारीलाई पुनः उत्पादनसँग जोड्ने चोखाल दाजुभाइको प्रयासलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। छिमेकी सन्दीप खत्रीका अनुसार रोजगारी र अवसरको खोजीमा धेरै युवा विदेश वा शहरतिर गइरहेका बेला चोखाल दाजुभाइले गाउँमै सम्भावना खोज्दै बाँझो पाखोबारीलाई हराभरा बनाएका छन्।

“उहाँहरूको कामले गाउँमा कृषि गर्न सकिन्छ भन्ने विश्वास जगाएको छ,” खत्रीले भन्नुभयो।

फार्ममा उत्पादन भएका बिरुवा, फलफूल र कुखुरा खरिद गर्न ग्राहकहरू आफैँ पुग्ने भएकाले बजारको समस्या नरहेको चोखाल बताउनुहुन्छ। तर दक्ष कामदार र श्रमिकको अभाव भने व्यवसाय सञ्चालनको मुख्य चुनौती बनेको छ।

युवाशक्ति विदेशिने र खेतीयोग्य जमिन बाँझिने समस्याका बीच सुजन चोखालको कथा केवल एक कृषकको सफलताको कथा मात्र होइन, गाउँको उजाड पाखोलाई उत्पादन र सम्भावनामा रूपान्तरण गर्ने प्रेरणादायी अभियान पनि हो।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...