गण्डकीको नीति तथा कार्यक्रममा नाराभन्दा काममा जोड दिन सांसद भण्डारीको आग्रह

Gandaki Ghumau

बेनी। म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जिम्मेवार पदमा बसेका व्यक्तिहरूको कुराले जनतामा अन्योल पैदा गरेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा प्रधानमन्त्रीका नाममा आएका विभिन्न कुराहरूले जनप्रतिनिधिहरू समेत भ्रममा परेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

छलफलका क्रममा भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेटिएका केही सकारात्मक पक्षहरूको स्वागत गर्नुभयो । उहाँले आन्तरिक आय वृद्धि, राजस्व प्रणालीको डिजिटाइजेसन, पर्यटन, कृषि र हरित अर्थतन्त्रलाई प्राथमिकता दिनु राम्रो सुरुआत भएको बताए । ‘रिटर्न टु भिलेज’ अभियान, युवा उद्यमशीलता र स्थानीय उत्पादनको ब्रान्डिङ जस्ता कार्यक्रमले प्रदेशको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो । उहाँले विगत ८ वर्षमा प्रदेशले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै परिणाममुखी विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

भण्डारीले प्रदेश सरकारले नयाँ योजनाभन्दा पनि पुराना र अधुरा सडक तथा पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । उहाँले औद्योगिक क्षेत्रका रूपमा अघि सारिएका लोकाहा खोला र पुँजीटारका पूर्वाधार निर्माणमा ढिलाइ भएकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘हामीले नयाँ पूर्वाधारका कुरा गर्दा हाम्रै क्षेत्रमा रहेका गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानाको अनुभवबाट पनि सिक्नुपर्छ,’ उहाँले भन्नुभयो । नीति तथा कार्यक्रममा प्रयोग भएका डिजिटल शब्दावली र आकर्षक घोषणाको भिडमा कतै प्राथमिकताहरू त हराएका छैनन् भन्ने प्रश्न पनि उहाँले उठाउनुभयो ।

सञ्चार माध्यम र सामाजिक सञ्जालले जनतामा भ्रम छरिरहेको भन्दै उनले सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आज चारैतिर निराशा छ, प्रदेशमाथि प्रश्नहरू उठेका छन्, हामीले सुशासन र समयमै डेलिभरी दिन कहाँ–कहाँ चुक्यो भनेर समीक्षा गर्नुपर्छ ।’ उहाँले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरे पनि यहाँ कति पर्यटक भित्रिए भन्ने ठोस तथ्यांक सरकारसँग नभएकोमा गुनासो गर्नुभयो । छिमेकी देश चीन र भारतबाट कुल जनसंख्याको मात्रै ०.१ प्रतिशत पर्यटक भित्र्याउन सके पनि प्रदेश समृद्ध हुने उहाँको तर्क थियो ।

कृषि क्षेत्रमा किसानहरूले भोग्नुपरेको समस्याका बारेमा बोल्दै भण्डारीले प्राकृतिक विपत्तिका बेला सरकारले दिने राहत प्रभावकारी नभएको बताउनुभयो । ‘नारामा त कृषि र किसानका कुराहरू राम्रा सुनिन्छन् तर असिनाले बाली नष्ट हुँदा किसानले कहिल्यै क्षतिपूर्ति र राहत पाएनन्,’ उहाँले टिप्पणी गर्नुभयो । उहाँले नीति र कार्यक्रम कागजमा मात्रै राम्रो देखिने तर कार्यान्वयन नहुने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो ।

भण्डारीले युवाहरू विदेश पलायन हुने क्रम बढ्नुमा रोजगारी र अवसरको अभाव प्रमुख कारण रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटन पूर्वाधारमा सेल्फी ब्रिज र भ्यु फेवा भन्दा पनि युवालाई प्रत्यक्ष रोजगारी दिने र आयआर्जन बढाउने संरचनामा जोड दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले आगामी बजेटमा पहुँचका आधारमा नभई जनताका आधारभूत आवश्यकताका आधारमा बजेट विनियोजन हुने विश्वास व्यक्त गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...