दरवाङमा सम्पन्न स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

Gandaki Ghumau

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविरबाट छ सय जना भन्दा बढी लाभान्वित भएका छन् ।

‘मातृत्व जोगाउने अभियान अन्र्तगत’ बिराट क्यान्सर अस्पताल र बिराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा छ सय १४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरका सम्भावित बिरामी पहिचान, स्त्रीरोग सम्बन्धी समस्या न्युनीकरणका लागि जनचेतना वृद्धि र उपचारमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको कल्पका अध्यक्ष पुजा कोइरालाले जानकारी दिनुभयो ।

Shreekrishna

उहाँका अनुसार शिविरमा पहिचान भएका पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएका १५ जनालाई थप उपचारका लागि धौलागिरि प्रादेशिक अस्पतालमा रिफर गरिएको छ । क्यान्सररोग विशेषज्ञ डा. विनोद अर्याल र स्त्रीरोग विशेषज्ञ बबिता शाहको टोलीले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिनुभएको थियो ।

Gunasthariya Shiksya

दरवाङ आधारभूत अस्पताल परिसरमा सञ्चालन भएको शिविरमा मालिकाको साथै मंगला र धवलागिरी गाउँपालिकाका महिलाहरुले पनि सुविधा पाएका छन् । शिविरको संयोजन गर्नुभएकी मालिका गाउँपालिका–४ की शिला पुनले चेतना र शिक्षाको कमीका कारण रोग लुकाएर बसेका बिरामीको पहिचान गरि उपचारको दायरामा ल्याउने उद्देश्यले शिविर आयोजना गरेको बताउनुभयो ।

बालबिवाह र शारिरिक तथा मानसिक रुपमा परिपक्क नभएका किशोरीहरु गर्भवति र सुत्केरी हुँदा स्त्रीरोग सम्बन्धी समस्या धेरै रहेको तर उनिहरु रोग लुकाएर बस्ने गरेका पुनले बताउनुभयो ।

स्वास्थ्य शिविर अघि जेठ १० गते मालिका गाउँपालिकाको सात वटा वडाका २७ जना किशोरी र युवतिहरुलाई पाठेघरको मुखको क्यान्सरको कारण, समाधानका उपाय र उपचार बिधीका विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहभागी किशोरीहरुले जेठ ११ गते बस्तिहरुमा पुगेर सचेतनामुलक कार्यक्रम गरेका थिए ।

३० वर्ष भन्दा कम उमेर समूहका नेपालका युवा महिलाहरुले स्थापना गरेको कल्प संस्थाले सञ्चालन गरेको मातृत्व जोगाउने अभियान मार्फत हालसम्म २० हजार जना भन्दा बढीले सेवा पाएका संस्थाले जनाएको छ । शिविर सञ्चालनका लागि मालिका गाउँपालिका र ‘जे.के’ फाउण्डेशनले पनि सहयोग गरेका संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...