धवलागिरी र ढोरपाटनमा चिरकालीजको सर्वेक्षण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका र बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पंक्षी चिरकालीजको सर्वेक्षण भएको छ ।

नेपाल पंक्षीविद् संघको प्राविधिक टोलीले धवलागिरी गाउँपालिका–१ गुर्जा, ४ बगर र ढोरपाटन नगरपालिकाको बुर्तीवाङ घुसाखानीमा चिरकालीजको स्थलगत सर्वेक्षणका साथै समुदाय स्तरमा संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।

संघका अध्यक्ष हथन चौधरी, उपाध्यक्ष मनशान्ता घिमिरे, कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेल, अनुसन्धान अधिकृत विराटराज रजक, सदस्य केशव चोखालको टोलीले स्थानीय समुदायको सहयोगमा गत वैशाख २६ गते बगरदेखि शुरु गरेको सर्वेक्षणको काम मंगलबार घुसाखानीमा पुगेर समपन्न गरेको जनाएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा डिभिजन वन कार्यालय म्याग्दी, बागलुङ र ढोरपाटन शिकार आरक्षसँगको समन्वयमा अध्ययन गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

Shreekrishna

“चिरकालिजको प्रजनन् हुने सिजन पारेर झिसमिसे बिहानैमा बासस्थान नजिकैको अग्लो ठाउँमा पुगेर आवाज सुन्दा बगर, गुर्जा र घुसाखानीमा चिरकालिजको बसोबास रहेको भेटियो,” उहाँले भन्नुभयो “संकलन गरेको विवरणहरुको आधारमा त्यस क्षेत्रमा रहेका चिरकालिजको अनुमानित संख्या सहितको प्रतिवेदन सार्वजनिक गर्छौ ।”

प्रजनन्को समयमा झिसमिसेमा चिरकालिजको पोथी कराएर भालेलाई संकेत गर्ने क्रममा सर्वेक्षकहरुले आवाज सुनेर बसोबास रहेको पुष्टि र अनुमानित संख्या पहिचान गर्ने गर्छन् । यसअघि धवलागिरी गाउँपालिका–३ दर र वडा नं.–४ मुदीमा चिरकालीजको बासस्थान रहेको भेटिएको थियो । अध्ययनमा सहभागी बिराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालीज भेटिएका छन् ।

“चोरीशिकारी, अनियन्त्रित डढेलो र जलवायु परिर्वतको बढ्दो प्रभाव चिरकालीज संरक्षणको चुनौति हो,” अध्यता चोखालले भन्नुभयो “चोरीशिकारीका अलावा, गुडबाट अण्डा टिप्ने, पासो थाप्ने, चल्ला छोपेर घरमा ल्याएर पाल्न खोज्ने, चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समयमा हुने अनियन्त्रित डढेलोका कारण चिरकालीज लोप हुने अवस्थामा छ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

संघले पछिल्लो छ वर्षयता दातृ निकाय ‘टुलेडोज’ुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिकाको साथै मुस्ताङको घाँसा क्षेत्रको कालीगण्डकी बेसीनमा चिरकालीजको संख्या पहिचानका लागि अध्ययन र संरक्षणको कार्यक्रम गर्दै आएको जनाएको छ ।

कालीगण्डकी वेसीनमा हालै भएको अध्ययनका क्रममा १८ जोडी चिरकालीज भेटिएका थिए । धवलागिरी ढोरपाटनपछि सर्वेक्षण टोली बुधबार मुस्ताङ पुगेको छ । समुद्री सतहबाट देखि एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालीज पाइने गर्छ ।

सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता हुन्छ । बैशाख, जेठ र असार चिरकालीजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

चिरकालीजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।

भिरमा नै वासस्थान बनाउने यो पक्षीले एकपटकमा सात देखि १५ वटासम्म फुल पार्छ । अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम चिरकालिजको वासस्थान हो ।

नेपाल पंक्षीविद् संघले गरेको पछिल्लो अध्ययन अनुसार नेपालमा चिरकालीजको संख्या पाँच सय भन्दा कम रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले २०२९ मै यसलाई लोपोन्मुख पंक्षीको रूपमा सूचीकृत गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...