
बेनी, ः म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय दुई वर्षपछि कार्यान्वयन भएको छ ।
मालिका गाउँपालिका–७ डाडाखेत देखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर दुरीको प्रशारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलब ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न लागि वि.स. २०८० फागुन ६ गतेको मन्त्रिपरिषद्ले बैठकले स्विकृति प्रदान गरेको थियो ।
मन्त्रिपरिष्दले स्विकृति दिएको दुई वर्ष दुई महिनापछि डिभिजन वन कार्यालय म्याग्दीबाट गत शुक्रबार कटान आदेश प्राप्त भएको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो । “कटान आदेश नपाउँदा वन क्षेत्रमा तार तान्ने काम रोकिएको थियो,” उहाँले भन्नुभयो “वन डिभिजनले कटान आदेश दिएपछि रोकिएको कामले गति लिएको छ ।”

आयोजना निर्माण स्थलमा तीन हजार नौ सय ३६ वटा रुख छन् । प्रशारण लाइनका ८२ वटा टावर मध्य ४० वटा वन क्षेत्र र ४२ वटा व्यक्तिगत जग्गामा रहेका छन् । वन क्षेत्रको जग्गा प्रयोग गरेवापत आयोजनाले वि.स. २०८१ असोजमा पाँच सय चार रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनको लागि पहिलो किस्ता वापतको रकम समेत उपलब्ध गराइसकेको थियो ।
डिभिजन वन कार्यालय, म्याग्दीका प्रमुख बसन्त केशव अधिकारीले स्विकृत भएका रुख पहिचान गर्न स्थलगत अनुगमन गर्नुपर्ने भएकाले कटान आदेश दिन ढिलाई भएको बताउनुभयो ।
म्याग्दी र राहुघाट वेसिनका जलविद्युत आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालित आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । प्रशारण लाइन र सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा रु. तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।

पहिलो पटकको म्याद गत जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । प्रशारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सवस्टेशन निर्माण स्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माण स्थलमा समुदायको विवादका कारणले निर्माण अवधी लम्बीएको आयोजना प्रमुख अग्रवालले बताउनुभयो ।
उहाँका अनुसार अबको तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य सहित ठेकेदारले निर्माण कार्यलाई तिब्रता दिएका छन् । १३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ८२ वटा मध्य ७१ वटा खडा भएका छन् । प्रशारण लाइन र सवस्टेशनको उपकरण आयात भइसकेको छ ।
डाडाखेतको सवस्टेशनमा ९५ प्रतिशत, प्रशारण लाइनमा ७० प्रतिशत र राहुघाट सव स्टेशनमा ६५ प्रतिशत प्रगति भएको छ । एलएनटिका आयोजना ब्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थपेर तोकिएको समय भित्र सम्पन्न गराउने प्रतिवद्धता जनाउनुभयो ।
५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान भइरहेको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कुल रु. चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु. एक अर्ब पाँच करोड विद्युत प्राधिकरण र रु. तीन अर्ब ८२ करोड एशियाली विकास बैंकको ऋण लगानी छ । एशियाली विकास बैंकसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एशियाली विकास बैंकले विद्युत प्रशारण लाइन आधुनिकीकरण परियोजना मार्फत राहुघाट–डाडाखेत प्रशारण लाइन बनाउन ऋण लगानी गरेको हो ।
म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माणाधिन छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठुलोखोला र २३ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् ।
४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मंगले र संयुक्त उर्जाको ठूलोखोला जलविद्युत आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत आपुर्ति गराएका छन् ।

