
जोमसोम ः म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोम मार्फत विषादीको विकल्पमा ‘जैविक झोल’ उत्पादन गरि फलफुलबालीको रोगकिरा नियन्त्रणमा प्रयोग गर्न थालिएको छ ।
स्थानीय जडिवुटी र घाँसको मिश्रणबाट तयार पारिएको जैविक झोललाई परियोजनाले ‘इपिफाइटिक ल्याक्टीक एसिड ब्याक्टेरीया’ नामाकरण गरेको छ । परियोजनाका प्रमुख भरतराज गौतमले कार्यालयको स्याउ बगैचामा गत वर्ष परिक्षण गरिएको जैविक झोल यसपाली देखि मुस्ताङका किसानको स्याउ बगैचामा प्रयोग गर्न थालिएको जानकारी दिनुभयो ।
“गत वर्ष कार्यालयको बगैचामा प्रयोग गरिएको जैविक झोलले स्याउमा ढुसी र ‘ब्याक्टेरीया’ जन्य रोग नियन्त्रणमा सफल भएपछि यसपाली किसानका बगैचामै प्रयोग भएको छ,” उहाँले भन्नुभयो “स्वस्थकर, वातावरणमैत्री, बिषादी किन्दा हुने खर्चको बचत, स्थानीय स्तरमै तयार पार्न सकिने भएकाले जैविक झोल प्रयोगमा किसानहरुलाई प्रोत्साहन गरेका छौ ।”

उहाँका अनुसार ५० प्रतिशत तितेपातीमा बाँकी कोते, झिम्सी र राईघाँसलाई मिसाई ओखलमा कुटेपछि निचोरेर बनाएको झोललाई तीन दिनसम्म ३० डिग्री सेल्सीयस तापक्रममा राखेपछि अमिलिन्छ । एक केजी घाँसबाट तीन लिटर सम्म झोल निकाल्न सकिन्छ । एक बोतल झोललाई ४० लिटर सफा पानीमा मिसाएर बिरुवामा छर्कन सकिन्छ ।

यसरी उत्पादन भएको जैविक झोलमा बोटबिरुवाका लागि आवश्यक पर्ने मित्र जिव सक्रिय हुने र दुस्मन जिव भाग्ने अथवा नष्ट हुने क्षमता रहेको परियोजनाका प्रमुख गौतमले बताउनुभयो । गौतमले दुई वर्षअघि जापानमा अध्ययनको शिलशिलामा सिकेको जैविक झोल बनाउने सिप र प्रबिधिलाई पोखराको कास्कीकोट स्थित कुखुरा फार्ममा पनि प्रयोगमा ल्याउनुभएको थियो ।
मुस्ताङमा परिक्षण सफल भएको जैविक झोललाई परियोजना लागू भएको म्याग्दी, पर्वत र बागलुङका सुन्तला बगैचामा पनि प्रयोगका लागि किसानहरुलाई तालिम मार्फत सिप सिकाउने परियोजनाका प्राबिधिक गणेश जिसीले बताउनुभयो ।
“जैविक झोलको प्रयोग गरि मुस्ताङको स्याउका साथै म्याग्दी, पर्वत र बागलुङको सुन्तलाको गुणस्तर सुधार गर्न सकिन्छ,” उहाँले भन्नुभयो “महँगो रकम खर्चेर किनेको रासायनिक बिषादीलाई छर्कदा स्वास्थ्यलाई पर्ने जोखिम हटाउन मात्र नभएर किसानको खर्चको पनि बचत र वातावरणमैत्री हुन्छ ।”
मुस्ताङमा रासायनिक बिषादी आयात प्रतिस्थापन गरेर स्याउलाई पूर्ण जैविक बनाउने परियोजनाको लक्ष्य छ । गत वर्ष ७५ जनालाई र यसपाली ८५ जना स्याउ खेती गरेका किसानहरुलाई जैविक झोल बनाउने तालिम दिइएको छ । कृषि विकास कार्यालय मार्फत पनि थप किसानहरुलाई सिप सिकाइएको छ ।
परियोजना मार्फत मुस्ताङमा स्याउ, च्याङग्रा र आलु, म्याग्दीमा सुन्तला, आलु, बंगुर, पर्वत र बागलुङमा सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन भएको छ । परियोजना मार्फत खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने गरिएको छ ।

