
बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरुलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ ।
मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले सञ्चालन भएको तालिम शनिबार सकिएको हो ।
बेनीमा सात दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढामगरले प्रशिक्षण दिनुभएको थियो । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगंगाका अध्यक्ष टिका पुर्जा पुनले बताउनुभयो ।


सयौँ बर्षदेखि हराएर जाने अवस्थामा पुगेको मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि विद्यालयका शिक्षकहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योगकुमार फगामीले मगर भाषाको महत्व लाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम लाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपाल एकिकरणको समयदेखि तत्कालिन रिडीखोला÷कालीगण्डकी नदीदेखि पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरुको अस्तित्व मेटिएसंगै मगर खाम भाषा र लिपीको समेत इतिहास मेटिदै गएको छ ।

