
मुदी ः संसारको सातौ अग्लो धौलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पुुरा भएको छ ।
आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुुदीको भूूगोलमा पर्छ । धौलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलो पटक मंगलबारदेखि आरोहण दिवस मनाउन थालिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुुभयो ।
“पहुुँच र पहलको कमीले यसअघिका धौलागिरि आरोहण दिवस पोखरा र काठमाडौमा मनाउने गरिएको थियो,” उहाँले भन्नुभयो “धौलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलो पटक सम्बन्धित भूूगोलमा आरोहण दिवस आयोजना गरिएको हो ।”

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए। उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिकोे चुचुरोमा पुगेका थिए ।
गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा धौलागिरिको फेदीमा रहेको मुुदीमा दिवस मनाउन लागिएको हो ।

गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री यसोदा रिमाल, म्याग्दी १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली धवलागिरीका अध्यक्ष प्रेमप्रसाद पुुन, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुुजा, धवलागिरीका उपाध्यक्ष रेशम पुनमगर, पर्यटन मन्त्रालयका उपसचिव टिकाराम पौडेल, पर्यटन बोर्ड गण्डकीका प्रमुुख मणिराज लामिछाने, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य सहितका अतिथिहरुलाई स्थानीयबासीहरुले बाजागाजा सहित स्वागत गरेका थिए ।
मुदीका वडा अध्यक्ष यामप्रसाद घर्तीले गाउँपालिकाको केन्द्र मुनासम्म गाडीबाट पुुगेका अतिथिहरुले त्यहाँदेखि पदयात्रा गरेर मुुदी पुुगेका बताउनुभयो । उहाँका अनुुसार सम्बन्धीत भूूगोलमा धौलागिरि आरोहण दिवस मनाउनुपर्ने स्थानीयबासीको माग पुुरा भएकोमा मुदीबासी खुुसी भएका छन् ।
आरोहण दिवसको अवसरमा बुधबार मुुदीमा धौलागिरि आरोहीहरुलाई सम्मान र अन्तरसम्बाद कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताउनुभयो । “धवलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त पनि मानिन्छ,” उहाँले भन्नुभयो “यहाँको भू–बनोट र हावापानी अनौठो किसिमको छ, आधा÷आधा घण्टामा मौसम बदलिइरहने भएकाले धौलागिरि आरोहणलाई पर्वतारोहण क्षेत्रमा साहासिक मानिन्छ ।”
धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक निशा थापा राउतले बताउनुभयो ।
अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अभिलेख अनुुसार ६६ वर्षको अवधीमा सात सय जना भन्दा बढीले धौलागिरि हिमाल आरोहण गरेका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले धवलागिरी हिमाललाई पर्यटकीय रुपमा अपेक्षित उपयोग हुन नसकेको प्रति सरोकारवाला सबै गम्भीर वन्नुपर्ने बताउनुभयो । हिमाल सहित जोडिएका गाउँहरुको पर्यटन प्रवद्र्धन होस् भन्ने उद्देश्यले ६६ औं धवलागिरी दिवस यहाँको मुदी गाउँमा मनाउन लागिएको उहाँले बताउनुभयो । यस हिमालमा आरोहणसहित धवलागिरी चक्रीय पदमार्गको पदयात्रामा आकर्षण बढाउनुपर्ने उहाँको भनाइ छ ।

